हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्याङस्थित तौलपुल उपयुक्त स्थानमा नरहेको र उद्देश्यबमोजिम समेत सञ्चालन हुन नसकेको भन्दै बन्द गर्ने निर्णय गरेको दुई सातासम्म पनि निर्वाध सञ्चालन भइरहेको छ । संघीय सरकारको यातायात मन्त्रालयले आफैं तौलपुल सञ्चालन गर्ने तयारी गरिरहेको र थानाभर्याङस्थित तौलपुल उपयुक्त स्थानमा नरहनुका साथ उद्देश्यबमोजिम समेत सञ्चालन हुन नसकेकोले अहिलेको तौलपुल बन्द गर्ने निर्णय गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकक्षमा माघ २८ गते बसेको बैठकले सरोकारवाला निकायका अधिकारीको उपस्थितिमा बन्द गर्ने निर्णय गरेको दुई साता भइसक्दा पनि निर्वाध चलिरहेको छ । प्रदेश सरकारका सचिवदेखि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु देखे नदेखे गरी बसिरहेका छन् । यता व्यवसायी भने प्रदेश सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सरकारको नियतप्रति आशंका गरिरहेका छन् ।
तौलपुल हेटौंडा उपमहानगरपालिका, पुरानो नारायणी यातायात कम्पनि प्रालि र नारायणी यातायात प्रालिले संयुक्त रुपमा सञ्चालन गरिरहेको छ । बागमती प्रदेशको आन्तरिक ममिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्णयको प्रतिसहित तौलपुल बन्द गराउन निर्देशन दिइसकेको जानकारी दिनुभयो । निर्देशन पालना भए नभएको बारे आफूले बुझ्न नपाएको र भोलि (बिहीबार) बुझ्ने सचिव भुजेलले बताउनुभएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले मुख्यमन्त्रीकै उपस्थितिमा निर्णय भएपछि आन्तरिक मामिला मन्त्रालयबाट निर्णयसहितको पत्र प्राप्त भएको र मन्त्रालयको पत्रपछि प्रहरी र सरोकारवाला निकायलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, ‘फागुन २ या ३ गते सरोकारवालालाई पत्राचार गरेको छु । सायद बन्द भयो होला ।’
यता मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने पत्र नै प्राप्त नभएको बताउनुभएको छ । बुधबार समृद्ध समाजसँग कुरा गर्नुहुँदै प्रहरी उपरीक्षक राठौरले जिल्ला प्रशासनको पत्र प्राप्त नभएको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले भने जिल्ला प्रशासन कार्यालयको बोधार्थ पत्र प्राप्त भए पनि बन्द गराउनु भन्ने निर्देशन उल्लेख नभएको बताउनुभयो । हेटौंडा–११, थानाभर्याङस्थित तौलपुलसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय छ । तौलपुल बन्द गर्ने निर्णय भएको बैठकमा सहभागी प्रहरी निरीक्षक पाण्डेले प्रशासनको बोधार्थ पत्रमा भने बन्द गराउने आदेश नभएको दावी गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने भोलि (बिहीबार) देखि तौल पुल बन्द गरिदिने बताउनुभएको छ । बुधबार समृद्ध समाजसँग कुरा गर्नुहुँदै मेयर महतले निर्णयअनुसार भोलि (बिहीबार) दुवै संघका पदाधिकारीलाई बोलाएर उपमहानगरपालिका तौल पुल सञ्चालनमा सहभागी नहुने जानकारी गराउँदै तौल पुल बन्द गराउने बताउनुभयो । वार्षिक १०/१५ लाखको लोभमा तौल पुल सञ्चालनमा उपमहानगरपालिका संलग्न नहुने उहाँले स्पष्ट पार्नुभयो ।
नारायणी यातायात कम्पनि प्रालिले भने तौलपुल बन्द गर्न नहुने भन्दै बुधबार पत्रकार सम्मेलन गरेर प्रदेश सरकारको नियतमै प्रश्न गरेको छ । फरक प्रयोजनका लागि बसिएको बैठकले तौल पुल बन्द गर्ने निर्णय गरेको भन्दै नारायणी यातायात कम्पनि प्रालिका प्रबन्ध निर्देशक सरोज खनालले गलत नियतले निर्णय गरेको बताउनुभयो । मालबाहक सवारी साधनको तौल गर्ने क्रममा बढी तौल लिएर आउने गाडीबाट जफत गरिएको एक लाख वटा इँटा विभिन्न संघ, संस्थालाई वितरण गरेको र गाडी तौल गरेर उठाइएको शूल्क पैसा विभिन्न सामाजिक काममा खर्च गरेको विवरण प्रस्तुत गर्नुहुँदै प्रबन्ध निर्देशक खनालले मुख्यमन्त्रीको उपस्थितिमा प्रशासन तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीले गरेको निर्णयप्रति घोर आपत्ति प्रकट गर्नुभयो ।
राप्तीखोलाको पुल जीर्ण बन्दै गएकोले पुल नजिकै तौल पुल सञ्चालन गर्न उपयुक्त नभएको भनी आलोचना हुँदै आएको छ । यता तौलपुल सञ्चालन गर्दा भएको आम्दानीको खर्च गर्ने विधि, प्रक्रिया बिना नै जथाभावी खर्च भइरहेको छ । यस्तो पृष्ठभूमिमा प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा भएको निर्णयलाई वेबास्ता गर्दै निर्णयप्रति नै आपत्ति जनाएर व्यवसायी संघका पदाधिकारी भने सवारी साधनमा क्षमता भन्दा बढी ढुवानी गर्दा सडकमा क्षति पुगेको, सवारी साधन दुर्घटनाको जोखिम बढी हुने भन्दै तौल पुल सञ्चालन हुनुपर्ने माग गरिरहेका छन् ।
माघ २८ गते मुख्यमन्त्री डोरमणि पौडेलसहित हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, राष्ट्रिय अनुसन्धानका मकवानपुर जिल्ला प्रमुख लीलाधर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेको बैठकमा उपस्थिति रहेको थियो ।