हेटौंडाः प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष र हेटौंडा उपमहानगर समितिका पदाधिकारी बीच अन्तरक्रिया भएको छ । राष्ट्रिय अध्यक्ष प्रा. डा. रामजी गौतमले हेटौंडा उपमहानगर समितिका पदाधिकारीलाई प्राज्ञिक विद्यार्थी परिषद्का बारेमा जानकारी गराउनुका साथै विद्यार्थीलाई क्षमतावान र दक्ष बनाउन प्राज्ञिक विद्यार्थी परिषद्ले सहयोगी र समन्वयकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई असल, अनुशासित र ज्ञानआर्जन गर्न सक्षमता विकास गराउन प्राज्ञिक विद्यार्थी परिषद्को सहयोगी भूमिका निर्वाह गर्न हेटौंडा उपमहानगर समितिका पदाधिकारीलाई आग्रह समेत गर्नुभएको छ । प्राज्ञिक विद्यार्थी परिषद् हेटौंडा उपमहानगर समितिका अध्यक्ष दिनेश फूयाँलले केन्द्रको साथ, सहयोग र सहजीकरणमा प्राज्ञिक विद्यार्थी परिषद्ले विद्यार्थीको हितमा आवश्यक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।