भिडोल विजय युथ हेटौंडा गोल्डपको उपाधि विजेता एफसी विजय युथ हेटौंडा क्लब


हेटौंडाः भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक एफसी विजय युथ क्लबले जितेको छ । शुक्रबार हेटौंडाको वन विज्ञान क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा सेन्ट्रल कलेज बीएफसी भरतपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक एफसी विजय युथले उपाधि जितेको हो ।

रञ्जीत आले मगरले गोल गर्दै बीएफसी भरतपुरलाई सुरुवाती अग्रता दिलाए पनि हार टान सकेनन् । एफसी विजय युथका लागि म्यान अफ द म्याच शान्ता गुरुङ र प्रतियोगिताकै उत्कृष्ट खेलाडी रुपेश केसीले गोल गर्दै टिमलाई जित दिलाए । रुपेश केसीले पेनाल्टीमार्फत विजयी गोल गरेका हुन् । विजय युथले नगद तीन लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बीएफसी भरतपुरले एक लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एफसी विजय युथका रुपेश केसी घोषित भए । रुपेशले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको विधागत उत्कृष्ट प्रशिक्षक सुविन घिमिरे, गोलकिपर अशोक बराल, डिफेन्स सुरज विष्ट, मिडफिल्डर विश्व अधिकारी, फरवार्ड विमल राना मगर घोषित भए । विधागत उत्कृष्ट हुने सबैजना एफसी विजय युथका हुन् । यस्तै प्रतियोगिताबाट सबैभन्दा बढी ५ गोल गर्ने बीएफसी भरतपुरका जोनास ग्लोरी भए । विधागत उत्कृष्ट तथा बढी गोलकर्ताले नगद सात हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहलाई प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । एफसी विजय युथका सचिव राजेश भेटवालको संयोजकत्वमा भएको प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष सुदीप राजवाहकको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा भएको थियो ।

समापन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष प्रभातकुमार दाहालको पनि उपस्थिति रहेको थियो ।