हेटौंडाः एफसी विजय युथको आयोजनामा जारी भिडोल विजय युथ गोल्डकपमा शनिबार चितवनको हर्दि युवा समाज र सिन्धुलीको दुधौली स्पोर्ट्स क्लब विजयी भएको छ । हेटौंडाको वन विज्ञान क्याम्पसको खेल मैदानमा भएको खेलमा हर्दि युवा समाजले वीरगंज युनाईटेडलाई २—० गोलअन्तरले पराजित गर्यो । हर्दिलाई जित दिलाउन निरज चौधरीले खेलको सातौं मिनेटमा र सुरेश कुमालले खेलको १३ औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच हर्दि युवा समाजका सुरेश कुमाल भए ।
शनिबार भएको दोश्रो खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुलीले वीरगन्ज युथ एकेडेमीलाई टाइब्रेकरमा ४—२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समय १—१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । वीरगंज युथ एकेडेमीका आदित्य शाक्यले ३५ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै दुधौली स्पोट्स क्लबका प्रताप राईले दोश्रो हाफको १५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । टाइब्रेकरमा दुधौली स्पोर्ट्स क्लबको तर्फबाट विक्रम दनुवार, सञ्जय तामाङ, गोपाल लिम्बु र प्रताप राईले गोल गरेका थिए । यस्तै वीरगंज युथ एकेडेमीका लागि अजय चौधरी र शैलेश श्रेष्ठले गोल गरे । वीरगन्जको दुई वटा प्रहार दुधौलीका गोलरक्षकले रोकेका थिए ।
१० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेता टिमले नगद १ लाख ५० रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा आज आइतबार एफसी रियाल काठमाडौंविरुद्ध सेन्ट्रल कलेज बीएफसी भरतपुर र एफसी विजय युथ हेटौंडाविरुद्ध सर्लाही जिल्ला फुटबल संघबीच खेल हुने आयोजकले जनाएको छ ।