हेटौंडाः हेटौंडामा शुक्रबार शहीद दिवसको अवसरमा प्रभातफेरी तथा सभाको आयोजना भएकोे छ । बिहान हेटौंडा–११ स्थित शहीद स्मारक जाने मुल गेटबाट प्रभातफेरी सुरु भएर स्मारक परिसरमा रहेको शहीदहरुको शालिकसम्म पुगेको थियो । स्मारकमा रहेको शहीदहरु दशरथ चन्द, भक्ति थापा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमालगायतको शालिक बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोेरमणि पौडेलसहितले माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
शहीद दिवसको समापन कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सम्झना गर्दा उनीहरुले देखाएको बाटोलाई आत्मसाथ गर्न सकियो कि सकिएन भन्ने स्मरण हुने गरेको बताउनुभयो । उहाँले शहीद भएकाहरुलाई हिजोका दिनमा भन्दा आज फरक ढंगले बुझ्न थालिएको भन्दै वास्तविक शहीदहरुको अवमूल्यन भएको हो कि भन्दै शहीदको त्यागलाई अवमूल्यन हुन नदिन यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले एकै स्टेजमा नेकपा र नेपाली कांग्रेसलाई राखेर शहीदको भावनाहरु कुल्चिनेहरुलाई सिकाइराखेको बताउनुभयो ।
नेपाली कांग्रेको बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनताको व्यवस्थालाई टिकाउनुपर्ने बताउनुभयो । अहिलेको संघीयता र गणतन्त्रलाई कमजोर गर्न दिन नहुने भन्दै नेताहरुले सोच्नुपर्ने बताउनुभयो । दिन प्रतिदिन राजनैतिक व्यवस्था परिवर्तन हुने, जनताको अवस्था परिवर्तन नहुने, देशको आर्थिक स्थिति परिवर्तन नहुनुले यो व्यवस्थालाई कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ राजनीतिकर्मी सचेत हुनुपर्ने बताउनुभयो । नेता बानियाँले अहिलेको गणतन्त्रले जनताका छोराछोरी देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुख हुने व्यवस्था गरेको भन्दै जनताको यो व्यवस्थालाई टिकाउनुपर्ने बताउनुभयो ।
शहीद दिवसको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, संविधानसभा सदस्यहरु प्रह्लाद लामिछाने, अनन्त पौडेल, नेकपा नेता रामेश्वर रानालगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।