हेटौंडाः मकवानपुर प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा ठूलो क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा, अफिम र तयारी गाँजा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गण समेतबाट संयुक्त रुपमा खटिएको ४५ जनाको प्रहरी टोलीले बिहीबार कैलाश गाउँपालिका–८ कोसाईचार, पाख्रेलगायतका स्थानहरुमा गरी कुल १३ विगाहा क्षेत्रफलमा लगाएको लागूऔषध गाँजा र अफिम खेती फँडानी गरी नष्ट गरिएको र खेतमै लुकाई राखेको अवस्थामा ४ क्विन्टल गाँजा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको २६ जनाको प्रहरी टोलीले बिहीबार नै हेटौंडा–१६, बंगेरी र गोक्ते लगायतको स्थानमा कुल ७ विगाहा क्षेत्रफलमा लगाएको लागूऔषध गाँजा खेती फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।