हेटौंडाः हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाउनुभएको छ । उहाँसँगै अहिलेसम्म २७ जनाले खोप लगाएका छन् । आजबाट हेटौंडा अस्पतालसँगै देशैभर भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप लगाउन सुरु भएको हो । भारत सरकारको अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको थियो । हेटौंडा अस्पतालले अब दैनिक २ सय जनालाई खोप लगाउने जनाएको छ ।

आज बागमती प्रदेशको मुख्यमन्त्री, सामाजिक विकास मन्त्री तथा आन्तरीक मामिला तथा कानुन मन्त्रीसमेत रहनुभएको डोरमणि पौडेलको प्रमूख आतिथ्यतामा खोप कार्यक्रमको उद्घाटन भएको थियो । खोप कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलले विश्वका धेरै मुलुकमा अहिले खोप नपुगेको समयमा नेपालमा आएको बताउनुभयो । नेपाल सरकारले खोप ल्याउन सक्छ कि सक्दैन भन्ने भ्रम पनि यसले चिरेको भन्दै कोरोना नियन्त्रण गर्न सरकार लागिपरेको बताउनुभयो ।

खोप कार्ड प्राप्त गर्नुभएपछि हेटौंडा अस्पतालको डा. राजु सेढाई ।

बागमती प्रदेशको ३५ वटा केन्द्रबाट आज १३ जिल्लामा खोप लगाउन सुरु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलले हेर्टौडा अस्पतालले संचालनमा ल्याएको पिसिआर ल्याबको पनि उद्घाटन गर्नुभएको छ ।