हेटौंडाः आगामी बैशाखमा हुने घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा एउटा मतदानस्थल थप हुने भएको छ । आइतबार बसेको जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले निर्वाचन आयोगलाई मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा एउटा मतदानस्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजाल संयोजक रहेको जिल्ला मतदानकेन्द्र पुनरावलोकन समितिले मनहरी गाउँपालिका वडा नम्बर ६ को सुनाचुरीमा मतदानस्थल थप गर्न सिफारिस गरेको हो ।

मनहरी गाउँपालिकाले मतदानस्थल थप गर्न निवेदन दिएपछि निर्वाचन कार्यालय मकवानपुरले त्यसको स्थलगत अनुगमन गरेको थियो । अनुगमनमा मनहरी ६ मा १९ किलोमिटर टाढाबाट भोट हाल्न आउने भएपछि त्यहाँ मतदानस्थल राख्नुपर्ने स्थिति देखिएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द्रप्रसाद पौडेलले बताउनुभयो । करिब ५ सय घरधुरी रहेको मनहरीको रुपाचुरीलगायत ९ किलोमिटर टाढाबाट आवतजावतमा पनि समस्या हुने भन्दै मतदानस्थल थप गर्न सिफारिस भएको उहाँले बताउनुभयो ।

२०७४ सालको निर्वाचनमा मकवानपुरमा १ सय ६४ वटा मतदानस्थल तोकिएको थियो । मकवानपुरमा २०७४ सालको निर्वाचनभन्दा मतदाताहरु पनि बढेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । गएको चुनावभन्दा १८ हजार बढी मतदाताहरु थपिएको भएपनि त्यसको अध्यावधिक गर्ने काम भइरहेको पौडेलले बताउनुभयो । १८ वर्ष पूरा भएर आफ्नो नाम मतदाता नामावलीमा समावेश गरेकाहरु भोट हाल्न योग्य हुन्छन् । मकवानपुरमा १८ हजार मतदाता थपिएको भए पनि मुत्यु भएका, बसाईं सरेर गएकाहरुको तथ्यांक अध्यावधिक भइरहेकाले सामान्य हेरफेर हुनसक्ने निर्वाचन कार्यालय मकवानपुरका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

२०७४ सालको निर्वाचनमा मकवानपुर जिल्लामा २ लाख ५४ हजार मतदाताहरु रहेकोमा हाल २ लाख ७२ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतदाताको आधिकारिक तथ्यांक अध्यावधिक भएपछि आउने उहाँले बताउनुभयो ।