हेटौंडाः ऐतिहासिक मकवानपुरगढीमा शनिबार विजयोत्सव मनाइएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित मकवानपुरगढीमा दुई सय ५८ वर्ष अगाडि गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिर कासिमको सेनालाई पराजित गरेको दिनलाई सम्झिएर हरेक वर्ष माघ १० गते विजयोत्सव मनाउने गरिएको छ ।
गोर्खाली सेनाले मुगल सेनालाई पराजित गरी ५०० भन्दा बढी हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफल भएको थियो । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो । गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा पनि मकवानपुरगढी युद्धलाई लिइन्छ । पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित हुनुभएको बताइएको छ । सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केहि वर्ष मात्रै भएको छ । देशभरका २०० गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्वपूर्ण रहेको छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षता तथा विघटित प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा शनिबार विजयोत्सव समारोह आयोजना गरिएको हो । नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि विजयोत्सव समारोहमा नेपाली सेनाको पुरानो गोरख गणले सलामी अर्पण गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, इतिहासकार केदार न्यौपानेको पनि उपस्थिति रहेको थियो ।