उपाधि साथ बगरभाइ खलकका खेलाडीहरु ।

हेटौंडाः हेटौंडा भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखरा भेट्रान्सले जितेको छ । हेटौंडाको हुप्रचौरमा शनिबार भएको फाइनल खेलमा सानोगौचरण काठमाडौं भेट्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै बगरभाइ खलकले उपाधि जितेको हो । बगरभाइ खलकका मनोज गुरुङले विजयी गोल गरे ।

उपाधिसँगै बगरभाइ खलकले नगद एक लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सानोगौचरण भेट्रान्सले ५१ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच बगरभाइ खलकका नरेश थापा घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी बगरभाइ खलकका ईश्वर गुरुङ भए । गुरुङले १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगितामा बगरभाइ खलकका दिलिप क्षेत्री उत्कृष्ट गोलकिपर, राजकुमार केसी उत्कृष्ट मिडफिल्डर, मनोज गुरुङ उत्कृष्ट फरवार्ड, अञ्जन देवकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए भने सानोगौरणका चुनबहादुर थापा उत्कृष्ट डिफेन्डर घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपाधि विजेता, उपविजेता तथा विभिन्न विधामा पुरस्कृत खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा बीस वटा टिमको सहभागिता रहेको थियो ।