मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडामा वडास्तरीय समिति गठनका लागि भएको भेला ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडालाई बालमैत्री वडा घोषणाका लागि आवश्यक तयारी गर्न समिति गठन गरिएको छ । गाउँपालिकाको ३, ५ र ६ नम्बर वडालाई बालमैत्री वडा घोषणाका लागि वडास्तरीय बालमैत्री स्थानीय शासन समिति गठन तथा छलफल गरिएको छ । वडा अध्यक्षको अध्यक्षता तथा वडा कार्यालयका सचिव सदस्य–सचिव रहने समिति गठन गरी बालमैत्री घोषणाका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयनको काम अघि बढाइएको हो ।

मकवानपुरगढीको ३ नम्बर वडामा वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा गठित बालमैत्री स्थानीय शासन समितिका सदस्य–सचिवमा वडा कार्यालयका सचिव सोनु खड्का रहनुभएको छ । ५ नम्बर वडामा वडा अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा गठित समितिको सदस्य–सचिवमा वडा कार्यालयका सचिव हरिप्रसाद धिताल रहनुभएको छ । यस्तै, ६ नम्बर वडामा वडा अध्यक्ष टीकाप्रसाद दाहालको अध्यक्षतामा गठित समितिको सदस्य–सचिवमा वडा सचिव सागर लामा रहनुभएको छ ।

वडास्तरीय बालमैत्री स्थानीय शासन समिति गठन तथा अन्तरक्रियामा पालिकास्तरीय बालअधिकार समितिका सदस्य शिव चौलागाईं, गाउँपालिकाका महिला तथा बालबालिकाका शाखाका प्रमुख मन्दिरा थापा, पालिकाका रोजगार संयोजक कविराज हुमागाईं, रामप्रसाद दहाल, बालमैत्री सहजकर्ता एलिना देवकोटाको सहजीकरण रहेको थियो । छलफलसहित वडास्तरीय बालमैत्री स्थानीय शासन समिति गठन कार्यक्रमका सहभागीले आफ्नो वडालाई बालमैत्री बनाउँन आवश्यक पर्ने सूचकबारे आफ्नो भनाइ राखेका थिए । बालअधिकारका विभिन्न पक्षहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता अन्तर्गतका विभिन्न अधिकारबारे चर्चा गर्दै छलफलमा बालमैत्री वडा घोषणाका लागि पहिले गाउँपालिकामा रहेका बालबालिकाको स्थिति पत्ता लगाउन सर्वेक्षण गरिने जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा वडाका निर्वाचित वडा सदस्य, वडास्तरीय बालसंरक्षण समितिका प्रतिनिधि, महिला स्वयंसेविका, स्वास्थ्य संस्थाका प्रतिनिधि, प्रहरी, टोल विकासका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि, वडामा क्रियाशील सामाजिक संस्थाका प्रतिनिधि सहभागी थिए । गाउँपालिकाले २०७७ को चैतसम्म ३ वटा वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक तयारी गरेको हो । २०७८ साल मंसिरसम्म पालिकालाई नै बालमैत्री बनाउने अभियानमा योजनाबद्घ रुपमा लागीपरेको छ । पालिकालाई नै बालमैत्री घोषणाका लागि प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको संयोजकत्वको समितिले कार्ययोजना निर्माण गरेर आवश्यक अभियान अगाडि बढाएको छ ।