हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले धर्म संस्कृतिको संरक्षणबाट समृद्धि प्राप्त गर्न सकिने बताउनुभएको छ । हेटौंडा–१४, उत्तरपानी स्थित उग्र्येन पेमा डुप्लिङ बौद्ध गुम्बाद्वारा आयोजित दश करोड बज्रगुरु जप तथा शान्ति पुजाको बिहीबार उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले सबै धर्मको उद्देश्य समुन्नत समाज निर्माण गर्नु भएको बताउनुभएको हो ।
प्रमुख खुलालले समुन्नत समाजले समृद्धि हासिल गर्न सकिने बताउनुभयो । समाजलाई सुसंस्कृत, परिस्कृत र अनुशासित बनाउन धर्म संस्कृतिले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले धर्म संस्कृतिको संरक्षण गर्दै समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनु पर्ने बताउनुभयो । धर्म संस्कृतिको माध्यमबाट पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने र आर्थिक उपलब्धी हासिल गर्न सकिने उहाँको भनाइ थियो । प्रमुख खुलालले धर्म संस्कृतिले समाजलाई अनुशासित बनाउने भन्दै उहाँले धर्म–संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न समेत सबैलाई आग्रह गर्नुभयो । नेपालको मौलिक धर्म संस्कृति र सभ्यतालाई जोगाउनु पर्ने समेत उहाँले बताउनुभयो ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गुम्बाका प्रमुख गुरुलोपेन पेमा दोर्जे मोक्तानलगायत विभिन्न जिल्लाका गुम्बाका लामाहरुको सहभागिता थियो । आगामी १५ गतेसम्म सञ्चालन हुने शान्ति पुजा मकवानपुरमै दोस्रो भएको बताइएको छ ।