हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा व्यावसायिक रुपमा हाँसपालन सुरु गरिएको छ । हाँस पालनलाई नयाँ कामको रुपमा हेरिएको छ । मकवानपुरगढी–२, कुर्लेमा स्नात्तकोत्तर तह पूरा गरेका एक युवाले व्यावसायिक रुपमै हाँस पाल्न सुरु गरेका छन् ।
मासुका लागि भन्दा पनि अण्डाका लागि हाँस पालन सुरु गरिएको हेल्दी हार्भेष्ट फार्मका सञ्चालक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षको फागुनबाट फार्म सञ्चालन गरेर लोकल कुखुरा, टर्की, हाँस पाल्न सुरु गरेको एक महिनामा देशमा लकडाउन हुँदा व्यवसायमा असर पुगेको उहाँको भनाइ छ । ३० कठ्ठा जमिनमा २५ लाख रुपैयाँ लागतमा कुखुरा, टर्की तथा हाँस पालन सुरु गरेको उहाँले बताउनुभयो । फार्ममा अहिले ठूलो हाँस ५ सय र सानो हाँस एक हजारको संख्यामा रहेको उहाँले जानकारी दिनुभयो ।
हाँस बाहेक लोकल कुखुरा पनि पाल्दै आएको उहाँले बताउनुभयो । हाँस पालनका लागि ३ कठ्ठा क्षेक्रफलमा छुट्टै पोखरी पनि निर्माण गरिएको छ । हाँसलाई रातको समयमा खोरमा र दिनको समयमा बाहिरै छाड्ने गरेको उहाँले बताउनुभयो । गाउँमै दैनिक ३० वटा हाँस बिक्रि भइरहेको तथा हेटौंडा बजार र अन्य जिल्लाहरुमा चल्ला बेच्दै आएको श्रेष्ठको भनाइ छ ।
मकवानपुरगढीमा यसरी व्यावसायिक हाँसपालन गर्ने रामकुमार श्रेष्ठ एक्लो किसान भएको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभयो । व्यावसायिक हाँस पालनका लागि गाउँपालिकाले ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने कृषि प्राविधिक चौधरीले बताउनुभएको छ । श्रेष्ठले अझै फार्मलाई विस्तार गर्दै माछापालन, कटेज र पानीबाट चल्ने मिल चलाउने योजना रहेको बताउनुभयो ।