हेटौंडाः जिल्ला सुरक्षा समिति मकवानपुरले आसन्न प्रतिनिधि सभाको निर्वाचनका सन्दर्भमा आइतबार जिल्लामा क्रियाशील राजनीतिक दलहरुसँग छलफल गरेको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितिमा जिल्ला सुरक्षा समिति र जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि बीच छलफल भएको हो ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित सुरक्षा निकायका प्रमुखहरु र राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि बीच जिल्लाको समग्र शान्ति सुरक्षा, राजनीतिक दलका भेला तथा गतिविधिहरुलाई थप व्यवस्थित गर्ने/गराउने विषयमा छलफल भएको हो । छलफलमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि शान्ति सुरक्षा लगायतका गतिविधिहरुलाई व्यवस्थित गराउन आवश्यक समन्वय गर्ने र राजनीतिक दलहरुले चुनाव लक्षित गतिविधिहरुलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
छलफलमा उहाँले सार्वजनिक सडक अवरोध गरेर कार्यक्रम सञ्चालन नगर्न, बुद्धचोक, सिमाचोक जस्ता बढी भीडभाड हुने स्थानमा कार्यक्रम नगर्न समेत आग्रह गर्नुभयो । उहाँले चुनावको तयारी भइरहेको र सुरक्षा योजना निर्माणको चरणमा रहेको जानकारी दिनुहुँदै पार्टीका कार्यक्रमहरुका बारेमा सुरक्षा निकायहरुलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो ।
छलफलमा जिसस मकवानपुर प्रमुख खुलालले व्यवस्थित भएर चुनावलक्षित कार्यक्रम सञ्चालन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले स्वस्थ रुपमा दलीय प्रतिष्पर्धा गर्नुपर्ने भन्नुहुँदै आपसी समझदारी कायम गर्दै शान्तिपूर्ण र मर्यादित भएर कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । छलफलमा जिसस उपप्रमुख भगवती पुडासैनी, पुरानो गोरख गण सुपारेटारका प्रमुख सेनानी राजेश थापा, प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारी, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाली कांग्रेसका सहसचिव रामबाबु बानियाँ, राप्रपा मकवानपुरका नेता सिताराम बर्तौला, जसपा मकवानपुरका प्रतिनिधि सुरेन्द्र भट्टराईलगायतको सहभागिता थियो ।