हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हालसम्म ११ वटा वडामा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । ११ वटा वडाका ५ सय अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखाका प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले पूर्णरुपमा अपाङ्गता भएका व्यक्तिलाई ‘क’ वर्गको रातो परिचयपत्र, अति अशक्त अपाङ्गता भएकालाई ‘ख’ वर्गको निलो रङको परिचयपत्र, मध्यम अपाङ्गता भएकालाई ‘ग’ वर्गको पहेलो रङको परिचयपत्र तथा सामान्य अपाङ्गता भएका व्यक्तिलाई ‘घ’ वर्गको सेतो परिचयपत्र वितरण गर्दै आएको छ ।
स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लामा भएको महिला तथा बालबालिकाको कार्यालय स्थानीय तहमै गाभिएको थियो । हेटौंडा उपमहानगरपालिका मातहतमा महिला तथा बालबालिका महाशाखा सञ्चालन भएपछि हेटौंडा उपमहानगरपालिकाले अहिले पुरानो अपाङ्गता परिचयपत्र लिएकाहरुसँग पुरानो परिचयपत्र लिएर नयाँ परिचयपत्र वितरण गर्दै आएको तथा नयाँ अपाङ्गता भएको व्यक्तिलाई पनि परिचयपत्र वितरण गर्दै आएको छ ।
सोमबार हेटौंडा उपमहानगरपालिकाले हेटौंडा १६ का २५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ । हेटौंडा उपमहानगरपालिकाले अब छिट्टै नगरभित्रका वडा नम्बर १, ४, ५, ९, ११, १४ र १९ मा पनि अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने जनाएको छ । सबै वडाको पूर्ण तथ्यांक आएकाहरुलाई परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका प्रमुख लामिछानेले जानकारी दिनुभयो । यस्तै नयाँ अपाङ्गता भएका व्यक्तिले भने परिचयपत्र पाए पनि अपाङ्गता भत्ता पाउन केही समय कुुर्नपर्ने उहाँले बताउनुभयो ।
सरकारले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मासिक ३ हजार र अति अशक्त अपाङ्गता भएकालाई मासिक १ हजार ६ सय रुपैयाँ प्रदान गर्दै आएको छ । ‘ग’ र ‘घ’ वर्गका अपाङ्ता परिचयपत्र भएका व्यक्तिलाई राज्यले भत्ता उपलब्ध नगराएपनि अन्य सेवाहरुमा सहुलियत र आरक्षणको व्यवस्था छ । राज्यले उनीहरुलाई लोकसेवा आयोग, स्वास्य, शिक्षा तथा यातायातमा आरक्षण तथा छुटको व्यवस्था गरेको छ । यस्तै चारै प्रकारका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनमा लाग्ने भन्सार राज्यले निःशुल्क गरेको छ ।