साधारणसभाको अवसरमा सेयर सदस्यलाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मकवानपुरको बकैया गाउँपालिकामा पनि सेवा विस्तार गर्ने भएको छ । हेटौंडा–१७, हटियामा समेत सेवा केन्द्र स्थापना गरी सेयर सदस्यलाई सेवा प्रदान गरिरहेको सहकारीले बकैया पनि सेवा विस्तार गर्न लागेको सहकारीका सचिव रामजी सापकोटाले जानकारी दिनुभएको छ ।

सहकारीको २० औं वार्षिक साधारणसभाको समापन समारोहमा आइतबार सचिव सापकोटाले हेटौंडा–१२, पदमपोखरीस्थित किसान सहुलियत बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई एकीकरणको प्रक्रियामा ल्याएर हेटौंडा–१२ र १३ नम्बर वडा पदमपोखरीमा पनि सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभएको छ । सहकारीका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा २० औं वार्षिक साधारणसभाको समापन कार्यक्रम भएको हो । पुस ५ गतेबाट सुरु भएको साधारणसभाको आइतबार समापन समारोहमा सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, बालबचतकर्ता, सहकारी एकीकरणमा सहयोग गर्ने व्यक्ति, ज्येष्ठ सदस्य, एसईईमा उत्कृष्ट नतीजा ल्याउने सेयर सदस्य परिवारका विद्यार्थीलाई सम्मान समेत गरिएको छ ।

सहकारीले उत्कृष्ट कर्मचारीको रुपमा वरिष्ठ कार्यालय सहायक लेखनाथ लम्साललाई पनि सम्मान गरेको छ । दुई हजार तीन सय ७१ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी दुई करोड ५० लाख ६० हजार रुपैयाँ रहेको छ । सहकारीले २१ करोड ८० लाख ९० हजार रुपैयाँ बचत संकलन गरेको छ भने २२ करोड ५८ लाख १४ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।