हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा गाँजा खेती भएको स्थान खोजी गर्न प्रहरीले ड्रोनको प्रयोग गरेको छ । ड्रोनको प्रयोग गरेर प्रहरीले गाँजा खेती भएको क्षेत्रको पहिचान गर्नुका साथै त्यस क्षेत्रमा गाँजा फँडानी गर्न जाँदा आवश्यक सुरक्षा सतर्कताको अवस्था बुझ्न समेत सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । प्रहरीले पहिलो पटक ड्रोनको प्रयोग गरेर गाँजा खेतीको खोजी र फँडानी गर्न सुरु गरेको हो ।
नेपाल प्रहरीको मुख्यालय, लागूऔषध नियन्त्रण व्यूरो, बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सम्बन्धित क्षेत्रको ईलाका प्रहरी तथा प्रहरी चौकीको संयुक्त टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका, बकैया गाउ्रँपालिका र थाहा नगरपालिकाका विभिन्न स्थानमा अवैध गाँजा खेती नष्ट गर्ने कार्य गरिरहेको छ । प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको ८ जनाको विशेष टोली समेत रहेको संयुक्त कमाण्डले लागूऔषध गाँजाको खेती भएको स्थान पहिचान गरेर फँडानी गर्ने कार्य गरिरहेको छ । मंसिर २० गतेबाट मकवानपुरमा सुरु भएर हालसम्म दुई सय ५० विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
प्रहरीको संयुक्त टोलीले शुक्रबार मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मा व्यावसायिक रुपमा खेती गरिएको गाँजा प्रहरीले फाँडेको छ । प्रहरीले १५ विगाहा क्षेत्रफलको गाँजा फँडानी गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार गाँजा फाँडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजा फँडानी गरेर नष्ट समेत गरेको प्रहरीको भनाइ छ । ड्रोनको प्रयोगले गाँजा फँडानी गर्न सहज भएको डिएसपी रानाले बताउनुभयो । प्रहरी प्रधान कार्यालयदेखि तल्लो तहसम्मको प्रहरी इकाईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ड्रोनको प्रयोग गरेर गाँजा खेती भएको स्थान खोजी गर्न र फँडानीका लागि आवश्यक सुरक्षा योजनाका लागि पनि सहज भएको उहाँको भनाइ छ ।