हेटौंडाः चालु आर्थिक वर्ष २०७७-०७८ को ५ महिना सकिनै लाग्दासमेत बागमती प्रदेश सरकारले क्यान्सर पीडितको उपचारमा कुनै सहयोग गर्न सकेको छैन । प्रदेश सरकारले क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा सहुलियत दिने भनेता पनि कार्यान्वयन हुन सकेको छैन ।
क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई उपचारमा सहज होस् भनेर संघीय सरकारले स्थानीय तहको सिफारिमा तोकिएको अस्पतालहरुबाट १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । संघीय सरकारले दिदै आएको सहुलियत उपचार सेवामा बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशका नागरिकहरुलाई थप ५० हजार रुपैयाँसम्मको सेवा दिने घोषणा गरेको थियो । यसका लागि ७ करोड ५० लाख बजेटसमेत प्रदेशको सामाजिक विकास मन्त्रालयले छुट्यााएको छ । तर प्रदेश सरकारको घोषणा केबल घोषणामा मात्रै सिमित भएको छ ।
बजेट विनियोजन भएको ५ महिना बित्नै लाग्दा यसबारे लक्षित नागरिकले अझै सेवा लिन सकेका छैनन् । पहिलो चौमासिकमा प्राप्त गर्न नसकेको सेवा चालु आर्थिक वर्षको असार मसान्तसम्म कुुर्नुपर्ने त होइन भनेर नागरिकहरुले प्रश्न गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले क्यान्स रोग लागेका विपन्न व्यक्तिलाई सो सेवा दिन सकेको छैन । यसबारे प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा सुचारु गर्न ढिलाई भएको भन्दै सकेसम्म छिट्टै विपन्न नागरिकहरुलाई सेवाप्रवाह गर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेढाईंले यसबारे बजेटको कुनै समस्या नभएको तर क्यान्सर रोगको उपचार दिने अस्पतालहरुसँग यसबारे छलफल पनि नभएको बताउनुभयो । यसबारे छफलल गरेर संघीय सरकारले दिँदै आएको सहुलियत उपचारमा रकम सकिएपछि प्रदेशले दिने ५० हजार रुपैयाँ प्रयोग हुने प्रवक्ता सेढाईंले जानकारी दिनुभएको छ । मन्त्रालयले सो सेवा दिन प्रदेशमा क्यान्सर उपचारको सेवा दिने अस्पतालहरुसँग छलफल गरेर कस्तो प्रणालीबाट सेवा दिने रणनीति बनाउन सुरु गरेको उहाँले बताउनुभयो । यसबारे दोस्रो चौमासिकसम्म कार्य अगाडि बढ्ने उहाँको भनाई छ ।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले २३ जना क्यान्सर रोग लागेको विपन्न नागरिकको उपचारमा छुटका लागि सिफारिस गरेकोे छ । क्यान्सर रोग लागेका २३ विपन्न नागरिकहरुलाई हेटौंडा उपमहानगरपालिकाले सिफारिस गरेर पठाएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।
वार्षिक १ सयभन्दा बढी क्यान्सर रोग लागेका व्यक्तिहरुलाई उपमहानगरले सिफारिस गर्दै आएको मेयर महतले बताउनुभयो । उहाँले आवश्यकताअनुसार उपचार सेवा गर्न नगद सहयोग पनि गर्दै आएको बताउनुभयो ।