हेटौंडाः कोरोना भाइरस संक्रमित हेटौंडा–१० की एक महिलाको शुक्रबार बिहान मृत्यु भएको छ । चितवन जिल्लास्थित भरतपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान साढे ५ बजेको समयमा महिलाको मृत्यु भएको हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा सदस्य ईन्द्र नेपालले जानकारी दिनुभएको छ ।
मृतक महिलाको छिमेकी समेत रहनुभएका वडा सदस्य नेपालका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबार हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डमा राखिएको थियो । ५२ वर्षीया महिलाको बिहीबार एक्कासी अक्सिजन लेभल घटेपछि उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको थियो ।
युरिक एसिड र उच्च रक्तचापको औषधी सेवन गरिरहनुभएकी महिलामा अन्य जटिल स्वास्थ्य समस्या भने थिएन । मृतक महिलाको नेपाली सेनाको सहयोगमा भरतपुरमै अन्त्येष्टिको कार्य गरिन लागेको वडा सदस्य नेपालले जानकारी दिनुभएको छ ।