हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक बोलाएको छ । हेटौंडा उपमहानगर क्षेत्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई आज शुक्रबार र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई आइतबार विद्यालय सञ्चालन बारे छलफल गर्न बोलाएको हो ।
विगत ८ महिनादेखि हेटौंडा उपमहानगरपालिकाका संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरु पूर्णरुपमा खुल्न सकेका छैनन् । संस्थागत विद्यालयहरुले अनलाइन कक्षालाई प्राथमिकतामा राखेका छन् भने सामुदायिक विद्यालयहरुले गाउँघरमै गएर पढाउने शिक्षालाई अवलम्बन गरेको छ । गतवर्षको चैत्र ११ गतेदेखि देश लकडाउन भयो । त्यसपछि अन्य क्षेत्रहरु यातायात, बैंक, बजार सबै विस्तारै खुल्दै गएपनि विद्यालय भने खुल्न सकेन । कोरोनाको जोखिमका बीचमा विद्यालयहरु खुल्न नसकेको बंशगोपाल माविका प्रधानाध्यापक रमेश लामिछाने बताउनुहुन्छ । जोखम बहन गर्न सकेका स्थानीय तहले आफ्नो क्षेत्रमा कोरोनाको मूल्याङ्कन गरेर विद्यालयहरु खुलाएको भएपनि हेटौंडा उपमहानगरपालिकाले त्यसो गर्न नसकेको उहाँको भनाइ छ ।
८ महिना बित्दा समेत हेटौंडा उपमहानगरपालिकाले विद्यालय खुल्ने र खुलाउने सहज वातावरण बनाउन नसकेको उहाँले गुनासो गर्नुभयो । यस्तै उहाँले दशैं र तिहारको बीचमा बंशगोपाल माविमा कक्षा १० सम्मका विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा अपनाएर कडा निगरानीमा विद्यालयमै राखेर पढाएको बताउनुभयो । आधा घण्टाको एउटा कक्षा बनाएको, ज्वरो आएका विद्यार्थीहरुलाई घर पठाउने, मास्क, सेनिटाइजर अनिवार्य गरेर विद्यालयमा अध्यापन गराएको उहाँको अनुभव छ । दैनिक ३ देखि ४ घण्टासम्म पढाउन सकिने उहाँले बताउनुभयो ।
अहिलेको समयमा नगरका ८२ सामुदायिक विद्यालयले प्रत्येक विद्यार्थीहरुलाई एउटा बेञ्चमा २ जना राखेर पढाउन सकिने भएपनि त्यसको जोखिम बहन गर्ने स्थानीय तह नहुँदा पढाइ हुन नसकेको हो । धेरै विद्यार्थी संख्या भएको विद्यलाय २ सिफ्टमा र थोरै विद्यार्थी संख्या भएको विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर पढाउन सकिने उहाँले बताउनुभयो ।
आउँदो आइतबारदेखि विद्यालयहरु खुलाएर अध्यापन गरिने भएको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । यसैगरी हेटौंडा–१ चाइनाक्वाटरमा रहेको अमर माविले पनि आउँदो आइतबारदेखि विद्यार्थीहरुलाई बोलाएको छ । सुरुमा पहिलो हप्ता विद्यार्थीको उपस्थिति हुने संख्या हेर्ने र सोहि अनुसार जोर बिजोर प्रणालीमा विद्यालय सञ्चालन गर्ने योजना बनाएको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले बताउनुभयो । ६६२ जना विद्यार्थी रहेको अमर माविमा कक्षा ३ सम्म थोरै विद्यार्थी भएपनि ४ कक्षादेखि १० कक्षासम्म विद्यार्थी संख्या धेरै रहेको छ । यसअघि विद्यालयले १० वटा स्थानमा सिकाई केन्द्र स्थापना गरेर विद्यार्थीहरुलाई पढाइमा आवद्ध गरेको थियो ।
अब अमर माविले आइतबारदेखि विद्यालय सुचारु गरेर मंसिरका अन्तिम साता पहिलो आन्तरिक परीक्षा लिने योजना बनाएको छ । हेटौंडा उपमहानगरपालिकाले आइतबार विद्यालय सञ्चालनको विषयमै बैठक बोलाएको बताउनुहुँदै प्रधानाध्यपक उप्रेतीले अब पढाइ सुरु नगरे विद्यार्थीहरुलाई समस्या हुने बताउनुभयो । कोर्ष पूरा गर्न समय लाग्ने भन्दै विद्यालयहरु अब खुलाउन स्थानीय तहले पनि सहज वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
यता हेटौंडा उपमहानगरपालिकाले भने विद्यालय सञ्चालन ढाँचा २०७७ अनुसार विद्यालयको अनुगमन गरेर सञ्चालन गर्ने जनाएको छ । कोरोनाको जोखिमको मुल्याङ्कन गरेर मात्रै विद्यालयहरु सञ्चालन हुने जनाएको छ । विद्यालय सञ्चालन बारे प्रधानाध्यापकको बैठकमा छलफल हुने उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ । संस्थागत विद्यालय सञ्चालन र सामुदायिक विद्यालय सञ्चालन गर्नेबारे छलफल गर्न बैठक बोलाइएको हो ।