हेटौंडाः भूकम्प पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको अन्तिम पटक समयसीमा निर्धारण गरेको छ । यही मंसिर मसान्तसम्म लाभग्राही सूचिमा परेकाहरुले अनुदान सम्झौता गर्नुपर्ने, पुसको १५ गतेसम्म पहिलो किस्ता लिइसक्नुपर्ने, माघमा दोस्रो किस्ता र बैशाख महिनासम्म तेस्रो किस्ता लिइसक्नुपर्ने भएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षति पुर्‍याएका मकवानपुरका ३ हजार ७ सय २ पूर्ण क्षतिमा परेका भूकम्पका लाभग्राहीले अनुदान सम्झौता गर्न बाँकी रहेको छ । आव वर्ष २०७६-७७ सम्म मकवानपुरमा ३४ हजार ६ सय ६८ लाभग्राही मध्ये ३० हजार ९ सय ८४ लाभग्राहीले निजी आवास निर्माण गर्न सम्झौता गरेर पहिलो किस्ता ५० हजार बुझेका छन् । यस्तै हालसम्म ३ हजार ७ सय २ भूकम्पका लाभग्राहीले भने अनुदान सम्झौता गर्न बाँकी रहेको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार मकवानपुरका प्रमुख बिमल किशोर केपिले बताउनुभयो ।

उहाँले सम्झौता नभएका लाभग्राहीहरुले यही मंसिर मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने बताउनुभएको छ । उहाँका अनुसार हालसम्म हेटौंडा उपमहानगरपालिकाका एक हजार ९४ लाभग्राही, थाहा नगरका छ सय २९, ईन्द्रसरोवर गाउँपालिकाका दुई सय ९४, कैलाश गाउँपालिकाका दुई सय ३८, बकैया गाउँपालिकाका दुई सय सात, बागमती गाउँपालिकाका एक सय ३९, भीमफेदी गाउँपालिकाका चार सय ३५, मकवानपुरगढी गाउँपालिकाका एक सय ९१, मनहरी गाउँपालिकाका चार सय पाँच, राक्सिराङ गाउँपालिकाका ७० लाभग्राहीले सम्झौता गर्न बाँकी रहेको छ । उनीहरुलाई मंसिर मसान्तसम्म सम्झौता गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

यस्तै २०७२ सालको भूकम्पपछि आवास प्रवलीकरणतर्फ मकवानपुरमा १३ हजार दुई सय ४९ घर पहिचान भएका थिए । उनीहरुमध्ये १० हजार एक सय १० लाभग्राहीले सम्झौता गरेका छन् भने तीन हजार एक सय ८९ लाभग्राहीले सम्झौता गर्न बाँकी रहेको छ । प्रवलीकरणतर्फ हेटौंडा उपमहानगरपालिकाका सात सय ३६, थाहा नगरपालिकाका पाँच सय ९६, ईन्द्रसरोवर गाउँपालिकाका ७९, कैलाश गाउँपालिकाका दुई सय १५, बकैया गाउँपालिकाका दुई सय ३८, बागमती गाउँपालिकाका चार सय एक, भीमफेदी गाउँपालिकाका दुई सय ११, मकवानपुरगढी गाउँपालिकाका दुई सय ६४, मनहरी गाउँपालिकाका तीन सय ७८, राक्सिराङ गाउँपालिकाका ७१ लाभग्राही रहेको प्रमुख केपिले जानकारी दिनुभयो ।

प्राधिकरणले अहिले प्रवलीकरणतर्फ मर्मत सम्भार गर्न सहज बनाइदिएपछि प्राविधिकलाई देखाएर आवास आवश्यकताअनुसार मर्मत गर्न सकिने उहाँले जानकारी गराउनुभयो । प्रवलीकरणमा निकै समस्या देखिए पनि अब भने सहजता भएको उहाँको भनाइ छ । यस्तै हालसम्म निजी आवासतर्फ जिल्लामा ३४ हजार छ सय ६८ लाभग्राही पहिचान भएकोमा ८९ प्रतिशत अर्थात ३० हजार नौं सय ८४ लाभग्राहीको सम्झौता भइसकेको छ भने ८९ प्रतिशतले पहिलो किस्ता, ८५ प्रतिशत अर्थात् २६ हजार चार सय ९५ लाभग्राहीले दोस्रो किस्ता र ६२ प्रतिशत अर्थात २१ हजार छ सय ४८ लाभग्राहीले तेस्रो किस्ता अनुदान लिएका छन् । यस्तै प्रवलीकरणतर्फ पनि हालसम्म १० हजार ६० अर्थात ७६ प्रतिशत सम्झौता भएर पहिलो किस्ता बुझेका छन् भने एक सय ४१ जनाले मात्र दोस्रो किस्ता अनुदान प्राप्त गरेका छन् ।