हेटौंडाः मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । मेडिकल अधिकृतसहितको सेवा हुने गरी कोभिड अस्पताल सञ्चलनमा आउने भएको हो । कोभिड अस्पताल सञ्चालन गर्न केन्द्रिय सरकारले स्थानीय तहलाई दश-दश लाख रुपैयाँ समेत उपलब्ध गराइसकेको छ ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले छिट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कापरीका अनुसार चैनपुरको ठाडेचौर भन्ने स्थानमा स्वास्थ्य चौकीको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालनमा आउने भएको हो । गाउँपालिकाले मेडिकल अधिकृत (एमबिबिएस डाक्टर) धनबहादुर खत्रीलाई करारमा नियुक्त समेत गरिसकेको छ । छठ पर्व सकिएलगत्तै कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी भएको स्वास्थ्य संयोजक विजय कापरीले बताउनुभयो ।

मकवानपुरको मकवानुरगढी गाउँपालिकामा कोभिड अस्पताल बनिसके पनि सञ्चालनमा भने आउन सकेको छैन । मकवानपुरगढी गाउँपालिकाले एमबिबिएस डाक्टर हालसम्म नियुक्त गर्न नसकेकोले कोभिड अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । अबको एक हप्ता भित्रै कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी भएको उहाँको भनाइ छ । मकवानपुरगढीले फुटसल कोर्टमा कोभिड अस्पताल निर्माण गरेको हो । यता बकैया गाउँपालिकाले पनि एमबिबिएस डाक्टरको माग गरेपनि नियुक्त गर्न नसकेको जनाएको छ । अन्य स्टाफ नर्सको व्यवस्था भइसके पनि चिकित्सकको नियुक्त गर्न नसकेको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुभयो । छिट्टै चिकित्सकको व्यवस्थापन गरेर छतिवन स्वास्थ्य केन्द्रमा कोभिड अस्पताल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

मकवानपुरको बाग्मती गाउँपालिकामा भने अस्थायी रुपमा कोभिडको अस्पताल निर्माण सम्पन्न भई काम भइरहेको छ । फापरबारी स्वास्थ्य चौकीमा कोभिड अस्पतालको सेवा दिइरहेको एक महिना भएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले जानकारी दिनुभयो । एक जना मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको टोलीले अहिले सेवा दिइरहेको उहाँको भनाइ छ ।

यता मकवानपुरको उत्तरी क्षेत्र ईन्द्रसरोवर गाउँपालिकाले पनि कोभिड अस्पताल बनाउने तयारीमा रहेको जनाएको छ । अहिको लागि होटललाई क्वारीनटाइनको अस्थायी रुपमा व्यवस्थापन गदै आएको गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले जानकारी दिनुभयो । त्यस्तै भीमफेदी गाउँपालिकामा पनि कोभिड अस्पताल बन्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले भने आइसोलसनमै कोभिड अस्पताल निर्माण गरेको जनाएको छ । कोभिड अस्पतालको लागि चिकित्सक माग गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । कोभिड अस्पतालको सेवा दिएपनि चिकित्सकहरु भने माग भएको उहाँको भनाइ छ । यस्तै थाहा नगरले पनि १० बेडको आइसोलेसन होटलमा तयारी राखेको नगरका उपमेयर खड्ग गोपालीले बताउनुभयो ।