हराएको भनिएकी बालिका ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा एकै परिवारका ५ बालबालिका हराएका छन् । कात्तिक ५ गते दिउँसो साढे ३ बजेदेखि ५ बालबालिका हराइरहेको बालबालिकाकी आमा बेलीमाया स्याङ्तानले जानकारी दिनुभएको छ । बकैया गाउँपालिका–३, चप्पाखरेका १७ वर्षीया युनिषा स्याङ्तान, १३ वर्षीया निशा स्याङ्तान, ७ वर्षीया बिबिना गोले, १४ वर्षीया रोहिता स्याङ्तान १४ र ३ वर्षीय काले गोले कात्तिक ५ गतेदेखि हराइरहेको स्याङ्तानले बताएकी छिन् ।

हराएका भनिएका बालिका ।

बकैया गाउँपालिका ३ का वडा अध्यक्ष दिलबहादुर बम्जनले बालबालिका हराएको भन्ने खबर प्राप्त भएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको बताउनुभएको छ । प्रहरी चौकी हात्तिसुडेका इञ्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णराम गौतमले बालबालिकाका आमाले बालबालिका हराएको भन्ने खबर गर्न आएपछि आमालाई जिल्ला प्रहरी कार्यालय जान भनी पठाएको जानकारी दिनुभयो । बालबालिकाकी आमा बेलीमाया भने जिल्ला सदरमुकाम हेटौंडास्थित जिल्ला प्रहरी कार्यालयसम्म जान बाटो खर्च समेत नभएर जान नसकेको बताउनुहुन्छ ।

हराएका भनिएका बालिका ।

परिवारका ५ बालबालिका एकसाथ हराएरपछि सबै आफन्तकोमा सोधीखोजी गर्दा कहीँ कतै नभेटिएपछि पाँचौं दिन आइतबार दिउँसो प्रहरी चौकी हात्तिसुँडेसम्म पुगेर छोराछोरी हराएको जानकारी गराएको बेलीमायाले बताउनुभयो । प्रहरी चौकीले जिल्ला जान भनेपनि आफूसँग बाटो खर्च समेत नभएको र त्यहाँ गएर कसलाई के भन्ने ? भनी जानकारी समेत नभएकोले आइतबार साँझ घर फर्किएको बेलीमायाले बताउनुभयो । बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बालबालिका हराएको विषयमा जिल्ला प्रहरीमा जानकारी गराएर खोजी गरिने बताउनुभएको छ ।