हेटौंडाः हेटौंडा–पालुङ हुँदै काठमाडौं जाने बाटो बन्द भएको छ । सिमभञ्जाङ पुग्नुभन्दा १० किलो मिटर अगाडि अघोर भन्ने स्थानमा भारी वर्षाका कारण सडकमा पहिरोसँगै ठुलो ढुंगा आएकाले बाटो ब्लक भएको थाहा नगरका मेयर लबशेर विष्टले बताउनुभयो ।

उहाँका अनुसार आज दिउसोबाट बाटो ब्लक भएपनि जेसिबी लगाएर बाटो खुलाउने प्रयास भइरहेको छ । सम्भवत आज बेलुका सम्म बाटो खुल्ने मेयर विष्टले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार हेटौंडा भैसे–सिस्नेरी हुँदै काठमाडौं जाने बाटो पनि सञ्चालन हुन सकेको छैन । भारी वर्षका कारण ठाउँठाउँमा पहिरो गएकोले बाटो सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । यस्तै कान्तिलोकपथ हुदै काठमाडौं जाने बाटो पनि बन्द रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले काठमाडौं जान मुग्लिनको बाटो मात्र खुलेको छ ।