नक्कली नोटसहित प्रहरीले पक्राउ गरेका दुईजना ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका वडा नम्बर ५ सिघासनीका २३ वर्षीय बलिराम चौधरी र चौधरीसँगै बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार छिमेकी राष्ट्र भारतको बिहार राज्य मोतिहारी जिल्ला झरौखरका २७ वर्षीय सन्दिप कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको नक्कली नोट ।

प्रहरीले सिम्रौनगढ नगरपालिकामा चोरीका मोबाइलहरू खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा बुधबार बिहान निगरानी बढाएको थियो । प्रहरी टोलीले सुरक्षाजाँच गर्दा सन्दिप कुमारले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली हजारको नक्कली नोट बाह्र लाख सोह्र हजार बरामद गरेको जनाएको छ । उनिहरुले उक्त नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको बताएको प्रहरीले जनाएको छ । नक्कली नोटसहित उनीहरूलाई थपबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।