Home अन्तरवार्ता ‘लोक कल्याणकारी सूचना नै साहित्यिक पत्रिकाको प्रमुख स्रोत’

‘लोक कल्याणकारी सूचना नै साहित्यिक पत्रिकाको प्रमुख स्रोत’

देवराज खरेल

पत्रकारिताको सुरुवात नै साहित्यिक पत्रकारिता अर्थात साहित्यिक पत्रिकाको प्रकाशनबाट सुरु भएको हो । छापा माध्यमको रुपमा साहित्यिक पत्रिकाले विश्व समाजलाई नै सचेत गराउन र आधुनिक पत्रकारिताको आधार तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर, आधुनिक सूचना प्रविधिको तीव्र विकास र विस्तारले छापा साहित्यिक पत्रकारिता संकटमा पर्दै गएको छ । निक्कै उत्साह र साहसका साथ त्रैमासिक साहित्यिक पत्रिका हाम्रो मातृभूमि प्रकाशन आरम्भ गरिएको करिब डेढ दशकको अनुभव र साहित्यिक पत्रकारिताका विषयमा मकवानपुरका अग्रज साहित्यकार देवराज खरेलसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः साहित्यिक पत्रिका हाम्रो मातृभूमि त्रैमासिक रुपमा प्रकाशन गरिराख्नु भएको छ । अहिले साहित्यिक पत्रिकाको प्रकाशन कसरी भइरहेको छ ?
खरेलः
पहिले चै हामीले उत्साहपूर्ण ढङ्गले प्रकाशन सुरु गर्‍यौं । २०५९ सालतिर सुरु गर्‍यौं । पहिले संस्थाबाट चलाइएको हो । २/४ वर्ष राम्रैसँग चल्यो । त्यसपछि २०६५ देखि मैले व्यक्तिगत नाममा राखेर हाम्रो मातृभूमि पत्रिका निरन्तर चलाइरहेको छु । हालसम्म करिब ५९ अंक पुगेको छ । आफैं प्रकाशक र सम्पादक भएर चलाइराखेको छु । अहिले लकडाउनले गर्दा गाह्रो छ । रचना पाउन पनि गाह्रो छ । पत्रिका नियमित प्रकाशन गर्न पनि उत्तिकै गाह्रो छ ।

समाजः रचना पाउन गाह्रो छ भन्नुभयो ? तपाईले रचना कसरी संकलन गर्नुहुन्छ ?
खरेलः
सामग्रीहरु थाहा पाएसम्म नाम चलेका साहित्यकारहरुदेखि, वरिष्ठ साहित्यकारका सिर्जनाहरु फोन मार्फत, कहिले कुरियर मार्फत, कहिले ईमेल मार्फत संकलन गर्ने गरेको छु । अहिलेसम्म त धेरै गाह्रो त हैन तर कोरोनाले गर्दा चै केही गाह्रो भएको छ ।

समाजः त्रैमासिक रुपमा प्रकाशित हुने हाम्रो मातृभूमि जस्ता साहित्यिक पत्रिकाका पाठक कस्ता छन् ?
खरेलः
इमान्दारिपूर्वक भन्नु पर्दा अहिले पाठक नै पाउन गाह्रो छ । धेरै गाह्रो छ । विद्युतीय माध्यममा छापा माध्यममा भन्दा छिट्टै रचनाको लेनदेन हुने भएकाले मासिक, त्रैमासिक पत्रिकाले पाठक पाउन समस्या छ । त्यस्तै १५ दिन, १ महिना कुर्नुभन्दा सामाजिक सञ्जाल र विद्युतीय माध्यममा तुरुन्त आउने भएका कारण अहिले पाठकहरु विद्युतीय माध्यमतर्फ आकर्षित छन् । उनीहरु पत्रिका किनेर पढ्दैनन् ।

समाजः साहित्यिक पत्रिका हाम्रो मातृभूमि नेपाल त्रैमासिक रुपमा प्रकाशन गरिराख्नु भएको छ । यसलाई निरन्तर प्रकाशन गरिराख्ने प्रमुख आधारहरु चाही के–के छन् ?
खरेलः
त्यस्तो आधारहरु केही पनि छैन । विभिन्न संस्थाहरुको विज्ञापन, सरकारको लोक कल्याणकारी विज्ञापन नै प्रमुख आधार हो ।

समाजः साहित्यिक त्रैमासिक, मासिक पत्रिकाहरुलाई कसरी अगाडि लान सके राम्रो हुन्छ होला ?
खरेलः
पाठकको राम्रो सहयोग चाहियो, संघसंस्थाहरुको नि सहयोग चाहिन्छ । सरकारले दिएको लोक कल्याणकारी विज्ञापनहरुले मात्र भ्याउदैन रहेछ । अब हामीले बजारमा गएर विज्ञापन उठाउन सक्दैनौं । सरकारले सहयोग नगर्ने हो भने हामीले यो बन्द गर्नुपर्ने हुन्छ । सबैबाट सहयोग चाहियो ।

समाजः तपाई आफै साहित्यकार हुनुहुन्छ । पत्रिका चलाइराख्नु भएको छ । त्रैमासिक रुपमा साहित्यिक पत्रिकाहरुको भूमिका समाजमा कस्तो रहन्छ वा पाठकहरुमा कस्तो प्रभाव रहन्छ ?
खरेलः
समाजमा आवश्यकता नभएको भने हाईन । यस किसिमका पत्रिका पढ्न चाहनेहरु पनि छन् । तर त्यो कम हुँदै गएको छ विस्तारै विस्तारै । अब आर्थिक कै कुरा आउँछ । मधुपर्क, गरिमा जस्ता पत्रिकाहरु मानिसहरुले किनेर पनि पढ्छन् । उनीहरुको बजेट पनि राम्रो भएका कारण लेखकको पारिश्रमिक पनि दिन सक्छन् ।

Exit mobile version