Home कला गजल प्रतियोगितामा नुवाकोटका खनाल प्रथम

गजल प्रतियोगितामा नुवाकोटका खनाल प्रथम

हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत अनलाईन ‘खुला गजल वाचन प्रतियोगिता’ मा नुवाकोटका गजलकार गोपाल खनाल प्रथम भएका छन् । त्यसैगरी प्रतियोगितामा मकवानपुरका केशव समर्पण द्वितीय, मकवानपुरका गंगा सापकोटा र बागलुङका मनिष गौतम तृतीय भएका छन् ।

जेसीज सप्ताह २०२० अन्तर्गत बुधबार पाँचौं दिन खुल्ला गजल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ४४ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा रुकुम, नुवाकोट, चितवन, धादिङ, पोखरा, काठमाडौं, भक्तपुर, लम्जुङ र युएईबाट पनि गजलकारहरुले सहभागिता जनाएका थिए । जेसीआई हेटौंडाका २०२० का अध्यक्ष राजदेव बनियाँको अध्यक्षतामा भएको कार्यक्रममा पोखराबाट वरिष्ठ साहित्यकार प्रकट पगेनीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष विशाल थापाको पनि आतिथ्य रहेको थियो । खुल्ला गजल वाचन प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल रहनुभएको थियो भने निर्णायकमा गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी र गजलकार बबि थापा रहनुभएको थियो ।

कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस वर्ष जेसीआई हेटौंडाले जेसीज सप्ताहका समपूर्ण कार्यक्रमहरु भर्चुअल माध्यमबाट गरिरहेको छ । जेसीज सप्ताह अन्तर्गत आज बिहीबार छैठौं दिन ‘माइण्ड टेस्ट ट्रेनिङ’ हुने तालिका रहेको जेसीआई हेटौंडाका कार्यकारिणी उपाध्यक्ष लिसेन बस्नेतले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार ‘समृद्धिका लागिः व्यक्ति कि पद्दति’ भन्ने विषयमा अन्तर जेसीज वादविवाद प्रतियोगिता भएको थियो । जेसीज हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत भोलि शुक्रबार अन्तिम दिन वक्तृत्वकला प्रतियोगिता गरिने भएको छ । लकडाउनको समयमा गरिएको १० वटा वक्तृत्वकला प्रतियोगिताका प्रथमहरुले सो प्रतियोगितामा भाग लिने छन् ।

Exit mobile version