हेटौँडा : प्रथम ‘बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी’ सम्पन्न भएको छ । हेटौँडामा भएको प्रदर्शनीमा राखिएका स्टलहरुबाट ५ लाखभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा शुक्रबारदेखि हेटौँडा–२ स्थित पल्पसा सदनमा सुरु भएको प्रदर्शनी सोमबार सम्पन्न भएको छ । सोमबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको सभाध्यक्षतामा भएको प्रशर्दनीको समापन कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो । प्रदर्शनीमा प्रदेशका सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुरका कृषक तथा कृषि उद्यमीहरूले ४० वटा स्टलहरु राखेका थिए ।
प्रदर्शनीमा स्टल निःशुल्क गरिनुका साथै टाढाबाट आउनेलाई संघले खाना र बासको पनि व्यवस्था मिलाएको थियो । स्टलहरु व्यवस्थापन गर्दा कुल ७ लाख रुपैयाँ लागत लागेको महासंघले जनाएको छ । प्रदर्शनी आयोजना गर्न बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौँडा उपमहानगरपालिकामार्फत ५ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने बाँकी खर्च संघले आफैँ व्यवहोरेको छ ।
प्रदर्शनीका स्टलहरुमध्ये ३ वटालाई उत्कृष्ट उद्यमीको रुपमा नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा राष्ट्रिय कृषक समूह महासंघ मकवानपुर, मकवानपुगढी अपाङ्गता तथा विपन्न कृषि सहकारी र बुँदेल सामुदायिक महिला बेसार उद्योग रहेका छन् । प्रदर्शनीमा राखिएका स्टलहरूबाट विषादीरहित जैविक खाद्यान्न कोदो, जुनेलो, फापर, मकैको पिठो, विभिन्न गेडागुडी, मसला, केराको चिप्स र अचारजस्ता खाद्य सामग्रीका साथै बाटेको धुप, गोबरबाट निर्मित दियो र गाँजाको रेशाबाट निर्मित कपडाहरू बिक्री वितरण गरिएको थियो । प्रदर्शनी स्थलमा आयोजकले शनिबार किसानको सफलताको कथा र आइतबार कृषिसम्बन्धी प्यानल छलफल कार्यक्रमसमेत आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख लामाले कृषि अनुदान कार्यक्रम अन्तर्गत पाएका अनुदान कृषकले सदुपयोग कि दुरुपयोग के गरेको छ ? भनेर अनुगमन गर्न उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो । साथै कृषिलाई प्रोत्साहन गर्न संघले स्थायी स्टल राखेर किसानका उत्पादनलाई व्यवस्थापन गर्न सुझावसमेत दिनुभयो । कार्यक्रममा हेटौँडा–११ का वडाध्यक्ष जुना दहाल, मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण कटुवाललगायतको आतिथ्य रहेको थियो ।
