Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र नुवाकोट जिल्लामा सोमबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३, बेलचोकस्थित मानवसेवा आश्रममा बस्दै आएका एक अन्दाजी ८० वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । राजेन्द्र बहादुर शाह भनेर चिनिने वृद्धलाई २०८१ साल कात्तिक ५ गते इच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजार क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका थिए । उद्दार गरी उनलाई मानवसेवा आश्रममा राखिएको थियो । आश्रममै उनको सोमबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको राप्ति नगरपालिका–१०, चिप्लेटिमा एक महिला सुतिरहेको अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीया सुष्मा प्रजा रहेको प्रहरीले जाकारी दिएको छ । सुष्मा आइतबार बेलुका खाना खाएर सुतेकी थिइन् । तर बिहान ८ बजेसम्म नउठेपछि परिवारले हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८, सत्तरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ६२ वर्षीय रामशरण गिरी रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो १ बजेर ३० मिनेटको समयमा गिरी घरदेखि उत्तरतर्फ रहेको राजेन्द्र श्रेष्ठको खेतको कुलोमा लडिरहेको अवस्थामा फेला परेका थिए । कुलोबाट बाहिर निकालेर हेर्दा रामशरणको मृत्यु भइसकेको अवस्थामा फेला परेका हुन् ।

Exit mobile version