Home मुख्य समाचार पढ्दै कृषक तथा व्यवसायी बनेका पञ्चलाल

पढ्दै कृषक तथा व्यवसायी बनेका पञ्चलाल

पञ्चलाल वाइबा

नानीमाया सापकोटा
हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी २०८२ मा सहभागीमध्ये एक स्टलमा आधुनिक कृषिमा प्रयोग हुने कृषि औजार तथा महलगायतका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । सोही स्टलमा कुरेर बसिरहेका युवा कृषक तथा व्यवसायी हेटौँडा–१३ निवासी पञ्चलाल वाइबा हुन् । २९ बर्षीय पञ्चलालले अहिले कृषि फार्ममात्र सञ्चालन गरेका छैनन्, कृषिमा आधुनिक प्रविधिका सामग्रीहरुको बेचबिखन तथा मर्मत सेवासमेत दिने काम गर्छन् । उनले साझदारी आधुनिक कृषि फार्म मार्फत प्राकृतिक रुपमा पारम्परिक खेती तथा उत्पादनलाई अघि बढाएका छन् भने उनको माँ आर्यतारा एग्रिकल्चर मार्फत कृषिलाई आधुनिक औजार तथा प्रविधि बेचबिखन र मर्मत सेवा प्रदान गर्दै आइरहेका छन् ।

पञ्चलालले कृषि पेसा सुरु गरेको एक दशक हुन लागिसकेको छ । २०७३ सालदेखि नै उनले कृषि पेसा सुरु गरेका थिए । हेटौँडामा बसेर कक्षा १२ मा पढ्दै गर्दा पालुङमा रहेकी आमाको हात भाँचियो । कक्षा १२ को परीक्षा दिएर ६ महिना खाली समय खेतीमा अभिभावकलाई सहयोग गरेर बिताए । यहि सहयोग नै पछि गएर उनलाई कृषक बन्न प्रेरणा बन्यो ।

आफ्नो परिवार खेतीपातीबाटै धानिँदै आएको भन्ने बुझेका पञ्चलालले कृषिलाई आधुनिक तरिकाले गर्न सके भविष्य निर्माण गर्न सकिन्छ भन्ने सोचेर हेटौँडा–१३, पदमपोखरीमा आफ्नै परिवारको १० कठ्ठा जग्गामा साझेदारी आधुनिक कृषि फार्म खोली गोलभेंडा खेती गरे । त्यसबेला उनी हेटौँडा–१० स्थित नारायणी कलेजमा व्यवस्थापन संकायमा स्नातक अध्ययन सुरु गरेका थिए । उनले गोलभेंडा खेतीलाई टनेल तथा थोपा सिँचाइबाट आधुनिक बनाएका थिए । यसबाट रामै्र आम्दानी भइरहेको थियो ।

दुई वर्षपछि खेती गरिरहेको जग्गा अंशबण्डामा परेपछि खेती रोकियो । उक्त जग्गामा खेती रोकिए पनि उनी भने रोकिएनन् । उनले सोही फार्म स्थानान्तरण गरी हेटौँडा–६ स्थित चुच्चेखोलामा सारेर पुनः गोलभेंडा र खुर्सानी खेती सुरु गरे । यो खेतीबाट पनि उनले राम्रो नतिजा पाए । तीन कठ्ठामा लगाएको गोलभेंडा र खुर्सानी बेचेर एकै वर्षमा ६ लाख बढी आम्दानी गरे । खेती गरिरहेको जग्गाको अवस्था चित्त नबुझेपछि उनले फेरि फार्मलाई सारेर हेटौँडा–९, लामसुरे पु¥याए । उनले त्यहाँ ५ वर्ष नाफामै फार्म सञ्चालन गरिरहे । ५ वर्षपछि उनलाई फार्मको दायरा बढाएर काम गर्ने इच्छा भयो । ठूलो क्षेत्रमा फार्म सञ्चालन गर्नकै लागि तीन वर्षअघि हेटौँडा–१२, आलदमारमा आफ्नो साझेदारी फार्म सारे ।

आलदमारमा फार्म सारेपछि उनले ५० कठ्ठा अर्थात् साँढे दुई बिगाहा जग्गा भाडामा लिई काम सुरु गरे । सुरुमा उनले ३ वटा टनेल बनाएर सयपत्री फूलको मात्र खेती गरे । हाल उनको यसपत्री फूलको टनेलको संख्या १६ वटा पुगिसकेको छ, जहाँ १२ महिना नै सयपत्री फूलको खेती हुन्छ । सयपत्री फूलमात्र बेचेर नै पञ्चलालले बार्षिक ८ देखि ९ लाख आम्दानी गर्ने गर्दछन् ।

फूल खेती हुने १६ वटा टनेलहरु मध्ये ७ वटा टनेल कृषि ज्ञान केन्द्र चितवन र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा प्राप्त भएका हुन् । अघिल्लो वर्ष उनले पारस्परिक कृषि उत्पादनमा आधारित भएर बहुउत्पादन सुरु गरे । उनले यस वर्ष मौरी पालन र मेवा खेती सुरु गरे । ‘सयपत्री फूल बाह्रै महिना फुलिरहने भएकोले सँगै मौरी पाल्दा राम्रो हुन्छ भन्ने सोचेर मौरी पालन पनि सुरु गरेको हुँ’, उनी भन्छन्– ‘धेरै त होइन वर्षको करिब ६० केजी मह उत्पादन हुन्छ । प्रतिकेजी ८ सयदेखि एक हजारसम्म बिक्री हुन्छ । त्यसैले महको कमाइ भने वार्षिक लाखभन्दा कमै हुन्छ ।’ उनले अघिल्लो वर्ष नै ५० बोट मेवा रोपेर परीक्षण सम्पन्न गरेका थिए । सो परीक्षणमा राम्रो नतिजा आएपछि यसवर्ष २ सय बोट थप मेवाका बिरुवा रोपेका छन् । नयाँ भएकोले हालसम्म उनले मेवाको आम्दानी भने लिन पाएका छैनन् ।

सधैंभरी खेतीमै ध्यान दिने वाइबाले लामसुरेमा फार्म सञ्चालन गर्दा अन्य कृषकहरु पनि प्रविधिबारे सोधीखोजी गर्दै उनीकहाँ धाउने गरेपछि माँ आर्यतारा एग्रिकल्चर कम्पनी खोलेर कृषि सामग्री तथा उपकरण बेच्ने र टनेल, थोपा सिँचाइलगायतका प्रविधि तयार पार्ने सेवा दिन थाले । त्यतिबेला ३ लाखबाट सुरु गरेको कृषि प्रविधि व्यवसायमा अहिले लाखौँ मूल्य पर्ने उपकरण तथा यन्त्रहरु पनि बेच्ने गरेको वाइबा बताउँछन् । उनको यो पसलमा थोपा सिँचाई, आधुनिक टनेल तथा नर्सरीका सामग्रीहरु उपलब्ध रहेका छन् ।

फूल खेती सँगसँगै मौरी पालन तथा मेवा खेती गर्दा आफूलाई रमाइलो लागेको बताउने पञ्चलाल अब भने फार्महरु नथप्ने र भइरहेका फार्ममा नयाँ प्रविधि र नयाँ प्रणालीहरु भित्र्याउनमा जोड दिने बताउँछन् । तीन वर्षअघि बिहे गरेका पञ्चलालले श्रीमतीको पनि आफ्नो कर्ममा साथ पाइरहेका छन् । कृषि पेसा राम्रो उपार्जनसहितको व्यवसाय बन्छ भन्नेमा युवाहरु अझै ढुक्क हुन नसकेकोमा उनलाई चिन्ता लाग्छ । कृषि पेसालाई पिछडिएको र गरिबीको पेसाको रुपमा समाजकोे बुझाई उनलाई चित्त बुझ्दैन । पञ्चलालको अनुभवमा कृषि पेसालाई समयसापेक्ष प्रविधिमा ढाल्दै धैर्यतापूर्वक निरन्तर मिहिनेत गर्ने हो भने यो अरु पेसाभन्दा उत्कृष्ट छ ।

Exit mobile version