Home मुख्य समाचार पुरुष पनि लैंगिक हिंसापीडित

पुरुष पनि लैंगिक हिंसापीडित

हेटौँडा : लैंगिक हिंसा भन्ने बित्तिकै महिलामाथि हुने हिंसा भन्ने आम बुझाई थियो । तर लैंगिक हिंसा भनेको लैंगिकरुपमा फरक–फरक व्यक्ति दुबैमा हुने हिंसा हो । केही वर्षअघिसम्म हिंसापीडित महिलाहरु मात्र उपचार गराउन आउने हेटौँडा अस्पतालमा रहेको लैंगिक हिंसासम्बन्धी एक द्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा आउने गरेकोमा पछिल्लो समय पुरुषहरुले पनि सेवा लिने गरेका छन् ।

यसअघि लैङ्गिक हिंसामा परेको भन्दै ओसीएमसीमा उपचार गराउन आउने गरेकोमा पछिल्लो समय पुरुषहरु पनि सेवा लिने गरेका छन् । चालु आर्थिक वर्षको ७ महिनामा केन्द्र मार्फत १ सय ४१ जनाले विभिन्न हिंसामा परेको भन्दै उपचार गराएका मध्ये ११ जना पुरुषहरु रहेका छन् । केन्द्रकी सम्पर्क व्यक्ति अमृता श्रेष्ठका अनुसार पहिले यो केन्द्रमा महिलाहरुले मात्र सेवा लिने बुझाई थियो । तर हाल पुरुष तथा तेस्रो लिङ्गीले समेत उपचार तथा परामर्श सेवा प्राप्त गर्न सकिने बुझ्दै आएपछि सेवा लिन आउने गर्दछन् । उहाँका अनुसार पीडित पुरुषहरु प्रायः सबै शारीरिक रुपमा हिंसा र कुटपिट भएको समस्यामा उपचार सेवा लिन आउछन् । उनीहरु तत्कालै रुपमा हुने झैझगडा तथा पारिवारिक कुटपिटका समस्या लिएर आउने र उनीहरुको समस्या व्यवस्थापन गर्न सहज र कम समय लाग्ने श्रेष्ठको अनुभव छ ।

केन्द्रमा सेवा लिन आउने पुरुषहरु बढ्दै गएको भएपनि समस्यागत रुपमा तुलनात्मक रुपमा महिलाहरुको सवालमा संवेदनशील घटनाहरुबाट पीडितहरु आउने गरेको श्रेष्ठ बताउनुहुन्छ । पीडित महिलाहरु कुटपिटको घटना दशकौंसम्म भोगिसकेपछि आजित भएपछि मात्रै आउने गरेको तथा जबरजस्ती करणी जस्ता जघन्य अपराधबाट पीडित महिलाहरु उपचारका लागि आउने गरेकोमा पुरषहरुको घटना भने लामो समयको उत्पीडन तथा संवेदनशील प्रकृतिका घटना खासै नभई तत्कालीन सामान्य भैझगडा पाइएको उहाँको भनाइ छ । केन्द्रमा चालु आर्थिक वर्षमा सबैभन्दा बढी जबरजस्ती करणीको घटनाबाट पीडित ३३ जना महिलाहरुले उपचार सेवा लिएका छन् भने ३० जना शारीरिक हिंसामा परेका महिलाहरुले उपचार गराएका छन् ।

Exit mobile version