Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा एकैदिन ५ जना घाइते

छुट्टाछुट्टै घटनामा एकैदिन ५ जना घाइते

हेटौँडा : मकवानपुरको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ५ जना घाइते भएका छन् । मकवानपुरको हेटौँडा, भिमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा आइतबार छुट्टाछुट्टै घटनामा एकैदिन ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

हेटौँडा–१८ भोर्लेमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । आइतबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा धरान–चतरा सडक खण्डमा भोर्लेतर्फ जाँदै गरेको ना.३२ प ८९८ नम्बरको मोटरसाइकलले पैदलयात्री ८ वर्षीय याकुव थिङलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करपछि मोटरसाइकल समेत लड्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा याकुव मध्यम घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ४५ वर्षीय धमक बहादुर डिमडुङ पनि मध्यम रहेको जनाइएको छ । दुबै घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा याकुवलाई सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुर चितवन रिफर गरिएको छ । मोटरसाइकल पछाडि सवार घाइतेको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–७ मनकामना मन्दिर नजिक पूर्व–पश्चिम सडकखण्डमा दुई अटो आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ ५ बजेर ५० मिनेटको समयमा सुनाचुरीबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह ४५५ नम्बरको गुडिरहेको अटोको टायर अचानक पड्किएर रोकिँदा सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ह २३२२ नम्बरको अटो अगाडिको अटोमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २३२२ नम्बरको अटोमा सवार मनहरी–७ रमौलीका ५० वर्षीय कमल घलेको टाउकोमा चोट लागी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मनहरी अस्पताल पठाइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुर चितवन रिफर गरिएको छ । सोही अटोमा सवार २१ वर्षीया रजिना सुबेदीको दाहिने खुट्टामा सामान्य चोट लागेको छ । उनको मनहरी अस्पतालमै उपचार भइरहेको छ । दुवै अटो र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारस्थित निर्माणाधीन तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको सुरुङमा काम गर्ने क्रममा एक कामदार घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुर जिल्ला लालझाडी गाउँपालिका–२ कञ्जका ३४ वर्षीय राम मिलन राना रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेर ५० मिनेटको समयमा सुरुङभित्र माथिबाट ढुङ्गा–माटो नखसोस् भनी बनाउने काम दोहो¥याइ (रिपिट) गरिरहेका बेला एक्कासी करिब २० मिटर माथिबाट तल खस्दा घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल ल्याएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version