हेटौँडाः हेटौँडा उपमहानगरपालिकामा आगामी फागुन ८ गतेदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता फागुन ८ गतेदेखि १० गतेसम्म हुने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक एवम् कार्यक्रम संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।
संयोजक पोखरेलका अनुसार हेटौँडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता हुनेछ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत उसु, कराँते, तेक्वान्डो, भलिबल, कबड्डी र एथ्लेटिक्स विधाका खेलहरु हुनेछ । मार्चपास प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका विजेता खेलाडीहरुले फागुन ११ गतेदेखि हुने जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुने पाउने कार्यक्रम संयोजक पोखरेलले जानकारी दिनुभयो ।
इच्छुक विद्यालयहरुले फागुन ६ गतेसम्म हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पर्क गरेर टिम दर्ता गराउन सक्नेछन् । हेटौँडा उपमहानगरपालिकामा हाल ७३ वटा माध्यमिक विद्यालयहरु रहेका छन्, जसमध्ये ३५ देखि ४० वटा विद्यालयले प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको छ । प्रत्येक विद्यालयबाट कम्तिमा ६० जना विद्यार्थी सहभागी हुने अनुमान गरिएको संयोजक पोखरेलले बताउनुभयो ।
