हेटौँडा : आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को कुल लक्ष्यको ८२.४७ प्रतिशतमात्र राजस्व संकलन गर्न सफल भएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ३ अर्ब ९७ करोड ६२ लाख २३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा यसको ८२.४७ प्रतिशत अर्थात् ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय मकवानपुरका सूचना अधिकारी ध्रुव सिंह घलानले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा कुल ८ अर्ब ९८ करोड ९८ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयले लक्ष्य राखिएको छ । हालसम्म कुल राजस्व लक्ष्यको ३९.२८ प्रतिशतमात्र संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा कुल ८ अर्ब ६५ करोड ६७ लाख २२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा ७ अर्ब २० करोड ४६ लाख २२ हजार संकलन भएको थियो । बितेको ६ महिनामा जेनजी आन्दोलन तथा हेटौँडाका राजमार्गहरु बिस्तारका क्रममा प्रभावित भएका कारण लक्ष्यभन्दा कम राजस्व संकलन भएको सूचना अधिकारी घलानले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ७७ पटक बजार अनुगमन गरेको पनि उहाँले जानकारी दिनुभयो । ६७ पटक बजार अनुगमन गर्ने लक्ष्य राखिए पनि लक्ष्यभन्दा १० पटक बढी बजार अनुगमन गरिएको छ । बजार अनुगमनबाट २ लाख ३२ हजार जरिवानासमेत असुली गरिएको सूचना अधिकारी घलानले बताउनुभयो ।
पछिल्लो ६ महिनाको अवधिमा ९ सय ६४ व्यवसायहरु व्यावसायिक स्थायी लेखा नम्बर (प्यान)मा दर्ता भएका छन् । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)मा २ सय १७ व्यवसायहरु दर्ता भएका छन् । व्यक्तिगत स्थायी लेखा नम्बरमा ४ हजार ४ सय ६६ जना आबद्ध भएका छन् भने यसै अवधिमा ७० वटा फर्महरु अन्तःशुल्कमा समेत दर्ता भएका छन् ।
