Home मुख्य समाचार दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु

दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी मंगलबार एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रसुवा र काभ्रेपलाञ्चोक जिल्लामा मंगलबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित केवलकार गेटअगाडि मंगलबार बिहान ८ बजेर ५३ मिनेटको समयमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री गोर्खा जिल्लाको सहिद लखन गाउँपालिका–२ का ३४ वर्षीय जीवन परियार गम्भिर घाइते भएका थिए । उपचारका लागि भरतपुर अस्पताल लगिएका परियारको मंगलबार बिहान १० बजेर १० मिनेट मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक कैलाली जिल्लाको लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय सुभाष बिश्वकर्मा ईलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा रहेको प्रहरी जानकारी दिएको छ ।

रसुवाको कालिका गाउँपालिका–२, लामाटोलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ बजेर ५० मिनेटको समयमा पासाङ ल्हामु सडकखण्डमा ग्राङबाट कालिकातर्फ जाँदै गरेको बा प्र ०२०५० प ८३१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ६३३२ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक नौकुण्ड गाउँपालिका–१ बस्ने २० वर्षीय युवराज घले समान्य र पछाडि सवार नौकुण्ड–२ की २० वर्षीय माया निकुर गम्भिर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोटमा पठाइएको र उपचारको क्रममा मंगलबार राति ८ बजेर ३० मिनेटको समयमा माया निकुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिपर र टिपर चालक नुवाकोट जिल्लाको तादी गाउँपालिका–६, गैरीगाउँका २९ वर्षीय काम्छिङ तामाङ ईलाका प्रहरी कार्यालय कालिकास्थानको नियन्त्रणमा रहेको छ ।

यसैगरी मंगलबार नै काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग सडकखण्डमा बनेपा नगरपालिका–७, चारदोबाटोस्थित बन्दै गरेको पुलको रेलिङमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेका बा ५० प ९७२८ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धुलिखेल नगरपालिका–१ का २० वर्षीय साजन तामाङ र पछाडि सवार २३ वर्षीय लालसिंह तामाङ घाइते भएका थिए । घाइतेमध्ये शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ३७ मिनेटको समयमा डाक्टरले लालसिंह तामाङलाई मृत घोषण गरेका प्रहरी जानकारी दिएको छ ।

Exit mobile version