Home मुख्य समाचार बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु

बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५०औँ वार्षिकोत्सव) सुरु भएको छ । सोमबार पिप्ले–क्याम्पा रंगशालामा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्नुभयो ।

स्वर्ण महोत्सव उद्घाटन समारोह अघि सोमबार बिहान विद्यालयबाट प्रभातफेरीसहित कार्यक्रमस्थल पिप्ले–क्याम्पा रंगशाला पुगेको थियो । विद्यालयले सोमबारदेखि माघ २८ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउँदैछ । स्वर्ण महोत्सव उद्घाटनको अवसरमा दिन विद्यार्थीहरु बीच डोरी तान्ने प्रतियोगिता भएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हरियो, रातो, पहेँलो र निलो गरी ४ वटा सदनमा विभाजन गरिएको छ । स्वर्ण जयन्तीको अवसरमा आयोजिता प्रतियोगितामा सदनगत प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ । मंगलबार विद्यार्थी, शिक्षक र अभिभावकसहित साइकल ¥याली गरिने छ । बुधबार धार्मिकस्थल सरसफाई, बिहीबार र शुक्रबार विविध खेलकुद, शनिबार विद्यालय परिसरमा रक्तदान कार्यक्रम र पूर्वविद्यार्थी खेलकुद कार्यक्रम हुनेछ ।

यसैगरी माघ २६ गते पुरस्कार वितरण, २७ गते अभिभावक खेलकुद लगायत विविध कार्यक्रम र २८ गते स्वर्ण जयन्ती समापन कार्यक्रम हुने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ पोखरेलको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, वडाध्यक्ष नवीन सिग्देल, सुशील घिमिरे, पूर्वविद्यार्थी समाजका अध्यक्ष सुदीप ठकुरीलगायत पूर्वविद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version