Home मुख्य समाचार उच्च शिक्षामा मकवानपुर क्याम्पसको योगदान र अबको गन्तव्य

उच्च शिक्षामा मकवानपुर क्याम्पसको योगदान र अबको गन्तव्य

नेपालको उच्च शिक्षाको इतिहास नै अन्य देशहरूको तुलनामा निकै छोटो रहेको छ । त्रिभुवन विश्वविद्यालयको स्थापनालाई आधार मान्ने हो भने लगभग ७० वर्षको इतिहास बोकेको नेपालको उच्च शिक्षाको पृष्ठभूमिमा मकवानपुर जिल्लाको हेटौँडामा २०३७ सालमा स्थापित मकवानपुर बहुमुखी क्याम्पस र त्रिविको आंगिक क्याम्पसका रुपमा स्थापित वन विज्ञान अध्ययन संस्थानका आधारमा ४०÷४५ वर्षको इतिहास मकवानपुरको उच्च शिक्षाको रहेको देखिन्छ ।

विद्यालय तहको अध्ययन पूरा गरिसकेपछि उच्च शिक्षाकै लागि झोला झ्याम्टा बोकेर बीरगंज, भरतपुर वा काठमाडौँ धाउनुपर्ने मकवानपुरबासीको बाध्यताका बीचमा सामुदायिक कलेजका रूपमा यहीँका समाजसेवी, शिक्षाप्रेमी, व्यवसायी, राजनीतिकर्मीलगायत सबै सरोकारवालाहरूको साझा अठोट, सहभागिता र क्रियाशीलतामा स्थापित भएको मकवानपुर बहुमुखी क्याम्पसले सुरुवातमा प्रविणता प्रमाणपत्र तहमा, त्यसपछि स्नातक तह र स्नातकोत्तर तह हुँदै विभिन्न संकायगत विषय क्षेत्रहरुमा अध्ययन अध्यापन गरी मकवानपुर जिल्लाका साथै बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, रामेछाप, काभ्रे, धादिङ, चितवनको पूर्वी क्षेत्रलगायतका विद्यार्थी र अभिभावकको उच्च शिक्षा प्राप्तिको आवश्यकतालाई पूरा गरी नेपालको शैक्षिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको सर्वविदितै छ ।

वन विज्ञान अध्ययन संस्थानले निश्चित कोटाका आधारमा सीमित विद्यार्थीहरूलाई खास प्राविधिक विषय मात्र अध्यापन गराइरहेको सन्दर्भमा आम विद्यार्थीहरूका लागि साधारण विषयका रूपमा रहेका मानविकी, शिक्षा, वाणिज्य, विज्ञानजस्ता विषयगत क्षेत्रहरूमा कम शुल्क र गुणस्तरका साथ उच्च तहको शिक्षा उपलब्ध गराएर सबै वर्गका जनताहरूको पहुँचमा रहनेगरी क्रियाशील हुनु अनि यस क्षेत्रको सामाजिक रूपान्तरणका लागि योग्य नागरिक निर्माणमा योगदान गर्न सक्नु मकवानपुर बहुमुखी क्याम्पसको मुख्य विशिष्टता हो । जनताका छोराछोरीको अध्ययनका लागि जनताद्वारा नै स्थापित हुँदै जनताकै व्यवस्थापन र सहकार्यमा सञ्चालित रहेको यो क्याम्पस समुदायको साझा सम्पत्ति हो, जसले हेटौँडालाई शैक्षिक थलोका रूपमा स्थापित गर्दै शिक्षा व्यवसाय होइन, सेवा हो भन्ने मर्मलाई पुष्टि गरेको छ ।

आजसम्म आइपुग्दा लाखौं योग्य नेपाली नागरिक निर्माण गर्दै देश र विदेशमा समेत व्यावसायिक एवम् पेशागत क्षेत्रमा सक्रिय रहेका जनशक्तिको सिकाई थलोका रूपमा स्थापित यो क्याम्पस देशकै उत्कृष्ट सामुदायिक क्याम्पसहरूभित्र परेर विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने दोस्रो चरणको क्यूएए प्रमाणपत्र समेत प्राप्त गरी तेस्रो चरणको उपलब्धिका लागि अन्तिम अवस्थामा पुगेको र आफैं विश्वविद्यालय समानस्तरको शैक्षिक संस्थाका रूपमा मान्यता पाई स्वायत्त पाठ्यक्रम समेत निर्माण गरी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने सम्मुखमा रहेको अगुवा शैक्षिक संस्था हो । यसकारण पनि मकवानपुरे जनताको रगत पसिनाबाट स्थापित मकवानपुर बहुमुखी क्याम्पस गौरव गर्न लायक शैक्षिक धरोहर बनेको छ, जो आफैंमा बेग्लै विश्वविद्यालय हुनसक्ने बाटोमा अगाडि बढिरहेको छ ।

हालसम्म आइपुग्दा बिहान ६ बजेदेखि लिएर बेलुकी ७:४५ सम्मका तीनवटा सिफ्टमा सञ्चालित हुने कक्षा ११/१२ देखि लिएर स्नातकोत्तर तहसम्मका विभिन्न संकायका कार्यक्रम गरी छ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत यस क्याम्पसमा एक सयको हाराहारीमा विषयगत प्राध्यापकहरू र पचास जनाको हाराहारीमा विभिन्न कर्मचारीहरू कार्यरत छन् । विद्यावारिधि, एमफिल लगायतका विभिन्न अनुसन्धानात्मक क्रियाकलापमा सक्रिय एवम् नवीन प्रविधि र सिकाइसँग सम्बन्धित तालिमहरूबाट समेत प्रशिक्षित प्राध्यापक कर्मचारीहरूका साथै सामाजिक एवम् राजनीतिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व र विभिन्न संघ, संस्थाहरु सम्मिलित क्याम्पस सभा र त्यसले निर्माण गरेको क्याम्पस सञ्चालक समितिका माध्यमले आवश्यक नीति निर्माण गरी यस क्याम्पसको शैक्षिक यात्रा अगाडि बढेको छ जसका लागि यस क्षेत्रका अभिभावकहरूको सद्भाव र सहकार्य समेत उत्कृष्ट रहेको छ ।

यसरी चालिस दशकभन्दा लामो यात्रासँगै अगाडि बढेको मकवानपुर बहुमुखी क्याम्पसको उच्च शिक्षाको क्रियाशीलता र आवश्यकता अबका दिनमा अझ परिस्कृत, जिम्मेवार र समावेशी हुनुपर्ने महसुस एकातिर छ भने अर्कोतिर चुनौतिका क्षेत्रहरुसमेत थपिँदै गएका छन् । विशेषगरी सूचना प्रविधिको तीव्रतर विकास, प्रविधिसँग जोडिँदै गएको ज्ञान र सूचनाको निर्भरता, विश्वव्यापीकरण एवम् युवा पुस्ताको तत्काल उपलब्धि प्राप्त गर्ने आकांक्षाजस्ता नयाँ चुनौतिहरूका साथै मानवीयता, संस्कृति, संस्कार, मौलिक पहिचानजस्ता सामाजिक पक्षहरूको जगेर्ना गर्दै राष्ट्रप्रति जवाफदेही, जिम्मेवार एवम् नैतिकवान नागरिक निर्माण गर्ने मौलिक आवश्यकताका बीचमा यस क्याम्पसको शैक्षिक क्रियाशीलता अगाडि बढ्नु पर्दछ । नेपालका विश्वविद्यालयहरूमै देखिएको चरित्र र समस्याहरूसँग मकवानपुर क्याम्पस पनि सँगसँगै रहेको पृष्ठभूमिमा मानित विश्वविद्यालयको यात्रामा अगाडि बढ्दै गरेको यस क्याम्पसले स्नातक र स्नात्तकोत्तर तहका विभिन्न स्वायत्त पाठ्यक्रमहरू निर्माण गरिरहेको सन्दर्भ अनि आफ्ना शैक्षिक योजनाहरू निर्माण गर्दै गर्दा निम्नानुसारका क्षेत्रमा विशेष ध्यान पु¥याउनु आवश्यक रहेको छ :

१) निम्न वर्गलाई समेत उच्च शिक्षाका लागि सहज बनाउनु :
आज आएर नेपालका अन्य विश्वविद्यालयहरूका साथै त्रिभुवन विश्वविद्यालयले समेत प्राविधिक एवम् गुणस्तरीय शिक्षाका लागि भन्दै उच्च शिक्षालाई सेमेस्टरमा आधारित बनाउँदै जानु अनि प्राविधिक विषयहरूमा जोड दिएका कारणले उच्च शिक्षा बढी खर्चिलो बन्दै गएको छ । यसका कारणले निम्नवर्गीय जनताका छोराछोरीहरु उच्च शिक्षाबाट वञ्चित हुने अवस्थाको सिर्जना भएको छ । शिक्षाका क्षेत्रमा राज्यको लगानी बढ्न नसकेको तर उच्च शिक्षा नवीनतम् प्रविधि एवम् कार्यमूलक ढङ्गका नवीन विषयहरूका कारणले खर्चिलो बनिरहेको सन्दर्भमा मकवानपुर क्याम्पसले सञ्चालन गर्ने कार्यक्रमहरू पनि सबैखाले विद्यार्थीका निम्ति सहज हुन् र विद्यार्थीको आर्थिक स्तरका आधारमा होइन, शैक्षिक स्तरका आधारमा पढ्न पाउने अधिकारको सुनिश्चितता हुनेगरीको सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने आवश्यकता बन्न पुगेको छ । यो शैक्षिक संस्था नाफा कमाउनका लागि भन्दा पनि सेवा गर्ने मुख्य उद्देश्यका साथ स्थापित भएको हुनाले गुणस्तरीय शिक्षालाई सेवासँग जोडेर सर्वसुलभ बनाउने कुरालाई मुख्य नीतिका रुपमा स्थापित गरिनुपर्दछ ।

२) शैक्षिक गुणस्तरमा योगदान :
मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुर क्षेत्रका साथै मधेस प्रदेशको पश्चिमी क्षेत्रमा समेत उच्च शिक्षाको गुणस्तरका लागि मानक निर्माण गर्नु अनिवार्य भइसकेको छ । विशेषगरी मकवानपुरमा नै बसोबास गर्ने विद्यार्थीहरूसमेत स्नातक र स्नात्तकोत्तर तहमा उत्तीर्ण हुनका लागि सजिलो हुन्छ भन्दै तराईका कतिपय क्याम्पसहरूमा भर्ना हुने र प्राविधिक रुपमा परीक्षा मात्र दिएर सजिलै उत्तीर्ण हुने परिपाटीले उच्च शिक्षाको गुणस्तरका क्षेत्रमा पक्कै प्रश्न गरेको छ । यो समस्या मकवानपुर बहुमुखी क्याम्पसको भन्दा पनि बढी त्रिभुवन विश्वविद्यालयको शैक्षिक एवम् परीक्षा प्रणालीका साथै राज्यकै समस्याका रुपमा बुझिनुपर्दछ र उक्त समस्या न्यूनीकरण गर्नका लागि विद्यार्थी र अभिभावकहरुलाई आवश्यक परामर्श दिने, विद्यार्थीको पेशागत अवस्थाअनुसार भौतिक कक्षाका साथै अनलाइन कक्षाको समेत व्यवस्था गरिदिने, कतिपय संकायका कक्षाहरू विद्यार्थीको अनुकूलता हेरी गुणस्तरलाई अझ अभिवृद्धि गर्ने गरी सञ्चालन गर्ने जस्ता उपायहरू अपनाएर अनि सम्बन्धित विद्यार्थीलाई उच्च शिक्षा प्राविधिक रूपमा प्रमाणपत्र लिने मात्र होइन ज्ञानको अभिवृद्धि गर्ने माध्यम पनि हो भनेर सचेत बनाउन आवश्यक छ ।

३) जिम्मेवार र नैतिकवान् नागरिकको निर्माण :
आजको युगलाई विज्ञान र प्रविधिको युग हो भनेर अतिपरिभाषित गरिरहँदा मान्छेलाई मेसिन बनाउने बाटोतर्फ समेत हाम्रो उच्च शिक्षा लक्षित हुन पुगेको छ । प्राविधिक रूपले दक्ष नागरिक मानवता र राष्ट्रियताप्रति सचेत बन्न सकेन भने ऊ मान्छे कम मेसिन बढी हुन पुग्दछ । त्यसकारण समाज र राष्ट्रका लागि जिम्मेवार र योग्य नागरिक बनाउनु उच्च शिक्षाको मुख्य दायित्व हो । त्यही दायित्वसँग मकवानपुर क्याम्पससमेत जिम्मेवार बन्नुपर्दछ । यसका लागि मानवता, राष्ट्रियता, समाज र परिवारप्रतिको दायित्व, नैतिकताजस्ता कुराहरुमा समेत विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन आवश्यक छ ।

त्यस्ता पाठ्यक्रमको विकासमा समेत क्याम्पसको योगदान हुन आवश्यक छ । आजको युवा विश्वबजारमा पुग्ने सामथ्र्यका साथ अगाडि बढिरहेको अवस्थामा आफ्नै परिवार, समाज र देशबाट भने टाढिनु हुँदैन । त्यसकारण जरालाई सधैँ समात्दै विश्वभर फैलन सक्ने नेपाली नागरिकको निर्माणका लागि उच्च शिक्षाले योगदान दिनुपर्छ । त्यसैअनुसारको योजनामा मकवानपुर बहुमुखी क्याम्पस पनि लाग्नुपर्दछ ।

४) कम आकर्षण भएका विषयहरूको संरक्षण :
मकवानपुर बहुमुखी क्याम्पसमा मानविकी, शिक्षा, विज्ञान र वाणिज्य संकायका विभिन्न कार्यक्रमहरू सञ्चालित छन् । यी कार्यक्रमहरूमध्ये वाणिज्य संकायमा विद्यार्थीहरूको ठूलो आकर्षण पाइन्छ भने मानविकी संकायमा विद्यार्थीहरू घट्दो अवस्थामा रहेका छन् । त्यसैगरी शिक्षा संकाय र विज्ञान संकायमा मध्यम संकायमा विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । आजका विद्यार्थीहरु प्रायः गरेर विदेसिन खोज्ने र विदेश जानका लागि जुन विषय सहज हुन्छ त्यसैप्रतिको आकर्षण बढ्दो रुपमा रहेको छ भने अर्कोतिर स्थानीय बजारका विद्यालयहरूमा गणित, विज्ञान, अङ्ग्रेजी, नेपालीजस्ता विषयका दक्ष शिक्षकहरूको अभाव हुन थालिसकेको छ भने अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, पत्रकारिताजस्ता सामाजिक विषयको गहन अध्ययन अनुसन्धान गर्ने जनशक्तिको समेत अभाव हुन थालेको छ ।

यस पृष्ठभूमिमा सामाजिक उत्तरदायित्वसहित सामुदायिक शैक्षिक संस्थाका रुपमा स्थापित यस क्याम्पसले आर्थिक रूपमा सवल रहेका शैक्षिक कार्यक्रमहरूका साथै कमजोर कार्यक्रमहरूलाई समेत संरक्षण सम्बर्धन गर्ने नीति लिनुपर्छ, जसका कारणले समाजमा आवश्यक रहेका जनशक्तिहरु पूरा गर्न सहज होस् । यही सामाजिक उत्तरदायित्वलाई महसुस गरी अहिलेसम्म कम विद्यार्थी रहेका कार्यक्रमहरूसमेत क्याम्पसले सञ्चालनमा ल्याएको छ र त्यस्ता कार्यक्रमहरुलाई अझ समयसापेक्ष बनाउँदै ती विषयहरूको मूल्य र महत्वका बारे विद्यार्थीहरुलाई जागृत बनाउने काममा समेत ध्यान दिनु आवश्यक छ ।

५) नैतिक जागरण र सचेतनाको अभियान सञ्चालन :
मकवानपुर बहुमुखी क्याम्पस मानक विश्वविद्यालयको यात्रामा अगाडि बढ्ने क्रममा आफैं पाठ्यक्रमहरु निर्माण गरेर स्वायत्त कार्यक्रम सञ्चालन गर्ने बाटोमा अगाडि बढ्दै जाँदा यस क्षेत्रको शैक्षिक एवम् सामाजिक समस्याहरूको समेत पहिचान गर्दै त्यसको न्यूनीकरणका लागि नेतृत्वदायी भूमिकामा रहनु समेत आवश्यक छ । आज विशेषगरी नवयुवाहरूमा लागुऔषध दुव्र्यसनी, आत्महत्या, ट्राफिक समस्या, सामाजिक सञ्जालको दुरुपयोगजस्ता समस्याहरू तीव्र गतिमा बढ्दै गएको छ । जसका कारणले हाम्रा विद्यार्थीहरू ज्ञान आर्जनतर्फ भन्दा पनि गलत कामतर्फ बढी आकर्षित हुने गरेका छन् ।

यो सामाजिक समस्यालाई न्यूनीकरण गर्नका निम्ति नैतिक जागरण एवम् सचेतनासँग सम्बन्धित निश्चित पाठ्यक्रमको निर्माण गरेर क्याम्पसका प्राध्यापकहरूलाई नै स्रोत शिक्षकका रुपमा विकास गरी विद्यालयहरूलाई लक्षित गरेर जागरण कक्षा सञ्चालन गर्ने काममा क्याम्पसले नीतिगत निर्णय गरी कार्यान्वयन गर्नुपर्दछ जसका कारणले आफ्नो आधार क्षेत्रका रुपमा रहेका विद्यालयहरूसँग जोडिने, त्यहाँका विद्यार्थीको मनोभाव बुझ्ने र सामाजिक समस्या निराकरणको सहयोगीका रुपमा सामाजिक उत्तरदायित्व पूरा गर्ने भूमिका स्थापित हुन पुग्दछ ।

६) रैथाने ज्ञानलाई विश्वव्यापीकरण गर्ने :
मकवानपुर बहुमुखी क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा विश्वविद्यालयतर्फको यात्रालाई अगाडि बढाउँदै गर्दा यस क्षेत्रको रैथाने ज्ञानहरूको पहिचान गरी तिनीहरूको संरक्षण गर्ने, सैद्धान्तिकीकरण गर्ने प्राविधिक रुपमा पुष्ट्याई गर्ने र उक्त ज्ञानलाई अनुसन्धानात्मक क्रियाकलापका माध्यमले विश्वव्यापीकरण गर्ने कार्यमा योगदान पु¥याउन सक्दछ । यसले गर्दा मकवानपुरको मौलिक ज्ञान र प्रविधिले विश्वमा स्थान पाउनुका साथै आफूमा भएको सामथ्र्यले समेत चिनिने मौका पाउँदछ र अनुसन्धानत्मक संस्कारको विस्तार हुन पुग्दछ ।

हिजोका दिनमा प्रमाणपत्र तहको अध्ययन गर्नकै लागि वीरगंज, भरतपुर वा काठमाडौँ जानुपर्ने बाध्यतालाई हटाउनका लागि स्थापित भएको मकवानपुर बहुमुखी क्याम्पस आजको दिनसम्म आइपुग्दा मानित विश्वविद्यालयमा अगाडि बढ्दै गएको छ जुन मकवानपुरबासीकै गौरवको विषय हो । यो यात्रालाई सार्थक बनाउनका लागि मकवानपुरबासी अभिभावक, विद्यार्थी, कर्मचारी, प्राध्यापक, सञ्चालकलगायत सबै पक्षको सिर्जनात्मक सहकार्यको आवश्यकता छ । हिजो देशभित्र एउटा मात्र विश्वविद्यालय रहेको अवस्थामा त्यही विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापित भएको यो क्याम्पस आजसम्म आइपुग्दा अनेकौं विश्वविद्यालयहरूको बीचमा रहेको छ । मकवानपुर जिल्लाभित्र मात्र चारवटा विश्वविद्यालय स्थापित हुनुका साथै एक दर्जन विश्वविद्यालयहरूका शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् ।

त्यसकारण मकवानपुर बहुमुखी क्याम्पस मानित विश्वविद्यालय हुनु नै उपलब्धि होइन, विश्वविद्यालयहरूको भिडमा फरक पहिचान र उपलब्धि प्राप्त गर्नु चाहिँ उपलब्धि हो । यसका लागि नेपालको उच्च शिक्षामा देखिएका समस्या र चुनौतिहरुलाई पर्गेल्दै नवीन सोच, शैली र सैद्धान्तिक धरातलमा उभिएर अगाडि बढ्न आवश्यक छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशकै उत्कृष्टमध्येको एक सामुदायिक क्याम्पसका रुपमा परिचित यस क्याम्पसले माथि उल्लेखित समस्या र चुनौतिहरुलाई महसुस गर्दै अगाडि बढ्न सके उच्च शिक्षाको क्षेत्रमा मकवानपुर बहुमुखी क्याम्पसको मानित विश्वविद्यालयतर्फको यात्रा सार्थक रहनेछ ।


मकवानपुर बहुमुखी क्याम्पस

Exit mobile version