Home खेलकुद कमाने प्रिमियर लिगको उपाधि एक्सपर्ट भिजन–११ ले जित्यो

कमाने प्रिमियर लिगको उपाधि एक्सपर्ट भिजन–११ ले जित्यो

उपाधिसाथ कमाने एक्सपर्ट भिजन–११ को टिम ।

हेटौँडा : चौथो संस्करणको कमाने प्रिमियर लिग (केपिएल) को उपाधि कमाने एक्सपर्ट भिजन–११ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा कमाने राइडर्सलाई पराजित गरेर एक्सपर्ट भिजनले उपाधि उचालेको हो ।

उपाधि जितेसँगै कमाने एक्सपर्ट भिजन–११ ले १ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको कमाने राइडर्सले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको फाइनल खेलमा सुरुमा व्याटिङ गरेको कमाने राइडर्सले १ सय ५४ रनको लक्ष्य प्रस्तुत गर्‍यो । कमाने राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । राइडर्सका लागि सुखेन्दु समन्थाले अविजित ३५ रन, रामनरेश गिरीले २९ रन र कस्पल अधिकरीले २७ रन बनाएका थिए । यसैगरी बलिङतर्फ राइडर्सका प्रविन घिमिरेले ३ विकेट, विपुल खनालले २ विकेट र विष्णु राउतले महत्वपूर्ण १ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् ।

कमाने एक्सपर्ट भिजन–११ ले १९ दशमलव १ ओभरमा ७ विकेटर गुमाएर लक्ष्य भेट्टायो । एक्सपर्ट भिजनका लागि अशिम श्रेष्ठले ६० रन बनायो भने सुजित पटेलले अविजित ४० रन बनाएको हो । एक्सपर्ट भिजनका सागर मगरले ३ विकेट, सुजित पटेलले २ विकेट र अशिम श्रेष्ठले १ विकेट लिएका थिए । प्रतियोगिताको फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भएका सुजित पटेलले १ हजार रुपैयाँ नगदसहित मेडेल प्राप्त गरेका छन् ।

कमाने एक्सपर्ट भिजन–११ र कमाने राइडर्स समूह चरणको शिर्ष दुईमा रहँदै फाइनलमा पुगेका थिए । व्यक्तिगत विधातर्फ एक्सपर्ट भिजनका संजिव थापा प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान र सागर मगर उत्कृष्ट बलर घोषित भए । यसैगरी कमाने राइर्डसका विष्णु राउत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र कमाने इ–प्लानेट व्लास्टर्सका दिपसन चौलागाई उदीमान खेलाडी घोषित भए । व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सागर मगरका लागि केपिएलको यो अन्तिम सिजन थियो । उनले केपिएलबाट सन्यास घोषणा गरेका छन् ।

हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा माघ १० गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । चौथो संस्करण प्रतियोगितामा यसअघि जनकपुर बोल्ट्सबाट एनपिएल खेलेका शुभ कंशाकार पनि कमाने लायन्सको तर्फबाट खेलेका थिए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको थियो । पुरस्कार वितरण समारोहमा वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्य रहेको थियो ।

Exit mobile version