हेटौँडा : हेटौँडा–८, कमानेमा जारी चौथो संस्करणको कमाने प्रिमियर लिग (केपिएल) मा कमाने रोयल्सले लगातार चौथो हार व्यहोरेको छ । बिहिबार कमाने एक्सपर्ट भिजन–११ सँग पराजित भएसँगै कमाने रोयल्सको पराजय यात्रा कायमै रहेको छ ।
बिहिबार दिउँसो भएको खेलमा कमाने एक्सपर्ट भिजन–११ ले कमाने रोयल्सलाई ३१ रनले पराजित गरेको छ । पहिले व्याटिङ् गरेको एक्सपर्ट भिजनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । एक्सपर्ट भिजनका लागि निर्भय सिग्देलले सर्वाधिक ८८ रन बनाए भने बलिङमा श्यामसुन्दर यादवले २ विकेट लिए भने अशिम श्रेष्ठ र सुजित पटेल समान ३/३ वटा विकेट लिए । जवाफी व्याटिङ गरेको कमाने रोयल्स निर्धारित २० ओभरमा १ सय ७७ रनमै अलआउट भयो । रोयल्सका लागि सुरज भट्टराईले ६८ रन र गौरभ खड्काले ४४ रन बनाए पनि हार टार्न सकेनन् । यसैगरी बलिङतर्फ प्रेम क्षेत्री र आदित्य पटेलले समान २/२ विकेट र विश्व पराजुलीले १ विकेट लिए । ४ वटा खेलमध्ये ३ वटा खेल जितेका कमाने एक्सपर्ट भिजन–११ अंक तालिकामा सबभन्दा माथि रहेको छ भने ४ वटै खेल हारेका कमाने रोयल्स सबैभन्दा पुच्छारमा रहेको छ ।
यस्तै बिहिबार बिहान भएको खेलमा कमाने राइडर्सले कमाने इ–प्लानेट ब्लास्टर्सलाई ५४ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको कमाने राइडर्सले १८ दशमलव ४ ओभरमा १ सय २५ रन बनाएर अल आउट भयो । कमाने राइडर्सका लागि विपुल खनाल र विष्णु राउतले समान ३२/३२ रन बनाए भने बलिङमा विष्णु राउतले ४ विकेट, रामनरेश गिरीले २ विकेट र नवी आलमले १ विकेट लिएका थिए । लक्ष्य पछ्याएको कमाने इप्लानेट ब्लास्टर्स १६ दशमलव २ ओभरमा ७१ रनमै अलआउट भयो । इप्लानेट ब्लास्टर्सका लागि व्याटिङ्मा विजय घलानले २१ रनका योगदान गरे भने बलिङमा सरोज यादवले २ विकेट, रिषभ चौधरी र विशाल पटेलले समान ३/३ विकेट लिए ।
