हेटौँडा : देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै अहाज शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको बलिदान गरेका वीर सपुतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा सरकारी तथा गैरसरकारी संघसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाउने गरिएको छ ।
देशमा विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्यांकन गर्दै माघ १६ लाई सहिद दिवसको रुपमा मनाइएको हो । विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने चार सहिदहरुलाई काठमाडौँको विभिन्न ठाउँमा मारिएको थियो ।
