हेटौँडा : नगरस्तरीय हिज्जे प्रतियोगितामा हेटौँडा–१४, मयुरधापस्थित जनज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय द्वितीय हुँदा, हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय तृतीय तथा आयोजक ज्ञानदा मावि सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने सहभागीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरिएको छ । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेका सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो । हिज्जे प्रतियोगितामा नेपाली र अंग्रेजी दुबै विषयलाई समेटिएको थियो । नेपाली भाषाको प्रश्न हेटौँडा–३ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयकी शिक्षक सुमित्रा हुमागाईले सोध्नु भएको थियो भने अंग्रेजी विषयको प्रश्न हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयका शिक्षक अनितबाबु सिंहले सोध्नु भएको थियो ।
विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी न्यौपानेको अध्यक्षता तथा वडाध्यक्ष फूर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराम थापा र प्रधानाध्यापक विनोद कुमार गुप्ताको पनि आतिथ्य रहेको थियो ।
