हेटौँडा : बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडी टोलमा आमा–छोराको हत्या भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान २ बजेको समयमा ४६ वर्षीया सुमित्रा मण्डल र उनका छोरा ३१ वर्षीय राम ईश्वर मण्डलको हत्या भएको थियो ।
धारिलो हतियार प्रयोग गर्दा ५० वर्षीय जगरूप मण्डल र उनकी छोरी २१ वर्षीया रिना कुमारी मण्डल घाइते भएका थिए । घाइतेहरुको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न २३ वर्षीया मनिता देवी मण्डल र बारा प्रसौनीका २७ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ । मनिता मृतक राम ईश्वरको श्रीमति हुन् । प्रारम्भिक अनुसन्धान अनुसार धर्मेन्द्र महतो युएईबाट नेपाल फर्किएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार घटना घरायसी विवाद र विवाहेत्तर सम्बन्धका कारण भएको हो । पक्राउ परेका दुवैलाई बारा जिल्ला अदालतबाट ५ दिन म्यादमा थप गरेर अनुसन्धान भइरहेको छ ।
