हेटौँडा : भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुर सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ छन् । आइतबार भट्टेडाँडास्थित जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले सुरक्षाजाँच गर्दा खोज्दा उनीहरू मोटरसाइकल नरोकिकन भागेका थिए । उनीहरूलाई पछ्याएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।
ब्रिजन र युनिक सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा ३६ प ७९०८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सो मोटरसाइकल उनीहरुले भक्तपुरबाट चोरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई ललितपुर प्रहरीले थप अनुसन्धानका लागी प्रहरी वृत्त जगातीमा बुझाएको छ ।
