Home मुख्य समाचार राष्ट्रिय सभा निर्वाचनमा मतदान सुरु, बागमतीमा २ सिटमा ६ जनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनमा मतदान सुरु, बागमतीमा २ सिटमा ६ जनाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न लामवद्ध जनप्रतिनिधिहरु ।

हेटौँडा : राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान भइरहेको छ । प्रदेशका राजधानीमा हुने मतदानको कार्यक्रमअन्तर्गत बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आज मतदान भइरहेको छ । हेटौँडा–४ स्थित भुटनदेवी मावि परिसरमा हुने निर्वाचनबाट २ जना निर्वाचित हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन बागमती प्रदेश मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेको छ भने मतदानको कार्यक्रम आइताबर बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म तय गरिएको छ । राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशका २ सिटका लागि ६ जनाले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश तर्फको २ सिटका लागि गठबन्धन (एमाले कांग्रेस), नेकपा र नेमकिपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

बागमती प्रदेश सभातर्फ महिला र अन्य क्लस्टरमा हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली काँग्रेसबाट एक महिला र एमालेको तर्फबाट पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले महिला क्लस्टरमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ भने एमालेका तर्फबाट अन्य क्लस्टरमा डा. प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रेम सापकोटा (राजेन्द्र) ले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाको तर्फबाट महिला क्लस्टरमा सरोज कुमारी झाले उम्मेदवारी दर्ता गरेकी छिन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेमकिपाका तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझेदारी गरेका एमाले र कांग्रेसको बहुमत पुग्ने भएको छ । सातै प्रदेशबाट १८ पदका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट २ जना सदस्यहरुको पदावधी रिक्त हुने र सो पदमा निर्वाचन हुने तयारी भइरहँदा एमाले र कांग्रेसले गठबन्धन हुँदा कुल मतदाताको बहुमत कायम हुने देखिएको छ । बागमती प्रदेशबाट अन्य क्लस्टरका बेदुराम भुषाल र गंगाकुमारी बेलवासेको पदावधी आगामी फागुनमा सकिँदैछ ।

बागमती प्रदेशको चुनावी अंकगणितअनुसार ११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा दलहरुको मतभारगठबन्धनको बहुमतको स्थितिमा रहेको हो । बागमती प्रदेशको कुल मतदाता ११० प्रदेश सभा सदस्य र २ सय ३८ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ३४८ रहेको छ । एक जनप्रतिनिधि भने भष्ट्राचार मुद्दाका कारण मतदानमा सहभागी हुन पाउने छैनन् भने ६ जना प्रदेश सभा सदस्य र ३ जना नगर प्रमुखहरुले पनि मताधिकार पाउने छैनन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका र प्रदेश सभाबाट राजीनामा दिएका थप ९ जनाले मतदान गर्न पाउने छैनन् । यसरी मतदान गर्न नपाउनेहरुमा प्रदेश सभा सदस्यबाट राजिनामा गरेका कांग्रेसका कुन्दन काफ्ले, राप्रपाका सुनिल केसी, एमालेका प्रकाश श्रेष्ठ र अमन कुमार मास्के, तत्कालीन नेकपा एकीकृत समाजवादी हालको नेकपाका प्रदेश सभा सदस्य वसन्त मानन्धर र युवराज दुलाल रहेका छन् ।

यसैगरी स्थानीय तहको प्रमुखबाट राजिनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बालेन्द्र साह, रेनु दाहाल र अशोक व्याञ्जुले पनि मतदान गर्न पाउने छैनन् । राष्ट्रिय सभा सदस्य निर्वाचन बागमती प्रदेशकी प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रदेशसभा र स्थानीय तहबाट राजिनामा गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न गएकाहरुले मतदान गर्न पाउने छैनन् । उनले एउटै व्यक्तिले दुईवटा पदमा बसेर भूमिका निर्वाह गर्न नपाउने भएकाले उनीहरुको नाम मतदाता नामावलीबाट हटाई सकिएको छ । निर्वाचन आयोगले जारीगरेको अन्तिम मतदाता नामावाली अनुसार नै निर्वाचन हुने उनले स्पष्ट पारिन् । जसले कुल मतदाता संख्या ३३८ कायम रहेको छ ।

बागमती प्रदेश तर्फको ११० जना प्रदेश सभा सदस्य मध्ये १०४ जनाको मताधिकार कायम भएको छ भने २३८ मध्ये २३४ स्थानीय तहका प्रतिनिधिहरुले मताधिकार पाउने छन् । जसअनुसार बागमती प्रदेशको कुल मतभार ९ हजार ९५८ रहेको छ । सो मतभारमा प्रदेशसभाका सदस्यको मतभार (५३ को दरले) १०४ जना प्रदेश सभा सदस्यले मताधिकार पाउँदा ५ हजार ५१२ र स्थानीय तह मतभार (१९ का दरले) २३४ जनाले मताधिकार पाउँदा ४ हजार ४४६ हुन आउँछ । कांग्रेससँग प्रदेश सभामा ३७ सिट र स्थानीय तहमा १०८ प्रमुख तथा उपप्रमुख छन् । कांग्रेसका एकजना जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण निलम्बित र एकजना प्रदेश सदस्यले राजिनामागरेकाले निर्वाचनमा सहभागी हुन नपाउने अवस्था छ ।

यसरी कांग्रेसको कुल मतभार ३ हजार ९४१ पुगेको छ । यस्तै नेकपा एमालेका दुई जना प्रदेश सदस्य र एकजना स्थानीय तहका प्रमुखले राजीनामा गरेकालेकुल मतभार २ हजार ४४६ मतभारसहित दोस्रो स्थानमा छ । कांग्रेस र एमालेबीच गठबन्धन हुँदा दुवै दलको संयुक्त मतभार ६ हजार ३८७ पुग्छ । यता नेकपाका २ जना प्रदेश सदस्य र एकजना स्थानीय तहका प्रमुखले राजिनामा गरेसँगै मतभार २ हजार ६१३ हुन आउँछ । एकजना सदस्यले राजिनामा दिएसँगै प्रदेश सभामा राप्रपाको १२ सिटमात्रै छ । यस्तै स्थानीय तहमा पनि कमजोर उपस्थितिका कारण राप्रपाको मतभार ६५५ मात्र छ । नेपाल मजदुर किसान पार्टीको १९७, हाम्रो नेपाली पार्टीको १०६ रहेको छ ।

Exit mobile version