Home मुख्य समाचार प्रतिनिधि सभा निर्वाचनमा उठ्न बागमती प्रदेश सभाका ६ सदस्यले दिए राजीनामा

प्रतिनिधि सभा निर्वाचनमा उठ्न बागमती प्रदेश सभाका ६ सदस्यले दिए राजीनामा

प्रदेश सभाकी उपसभामुख चापागाईंलाई राजीनामा पत्र बुझाउनुहुँदै काफ्ले ।

हेटौँडा : आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न बागमती प्रदेश सभाका ६ जना सदस्यले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, राप्रपा र नेकपाका प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएका हुन् ।

सोमबार ५ जना प्रदेश सभा सदस्यले इमेल मार्फत् प्रदेशसभा सचिवालय हेटौँडामा राजीनामा पत्र दर्ता गरेका छन् भने एक जना प्रदेश सभा सदस्यले प्रदेश सभा सचिवालयमा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईलाई राजीनामा पत्र बुझाएका हुन् । बागमती प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक, राप्रपाबाट एक, नेकपा र एमालेबाट प्रतिनिधित्व गर्ने २/२ जना प्रदेश सभा सदस्यले राजीनामा दिएका हुन् ।

बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री युवराज दुलालले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन् । २०७४ र २०७९ मा गरी २ पटक प्रदेशसभा सदस्य निर्वाचित भएका दुलाल आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन् । उनलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनाएको छ । आइतबार टिकट पाएका दुलालले कार्य व्यस्तताका कारण प्रदेशसभा सचिवालय हेटौंडा आउन नसकेपछि इमेल मार्फत् राजीनामा पत्र पठाएका हुन् । दुलाल लामो समय प्रदेशको मन्त्री भएका थिए । उनी २०७४ देखि २०७७ सम्म प्रदेशको सामाजिक विकास मन्त्री र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।

प्रदेशसभा सदस्य एवम् पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । काठमाडौं ७ (ख) बाट निर्वाचित २०७४ र २०७९ मा प्रदेश सभा सदस्य निर्वाचित भएका श्रेष्ठ आसन्न निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि पदबाट राजीनामा दिएका हुन् । उनी एमालेका तर्फबाट काठमाडौं–७ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार निश्चित भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार उनलाई सो क्षेत्रमा चुनाव लड्न टिकट दिएका हुन् । उनी २०८१ देखि २०८२ सम्म प्रदेशको मन्त्री बनेका थिए ।

बागमती प्रदेशका पूर्वमन्त्री एवम् एमाले प्रदेश सभा सदस्य अमन कुमार मास्केले पदबाट राजीनामा गरेका छन् । काठमाडौं–६ (ख) बाट निर्वाचित भएका मास्केले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएका हुन् । उनले इमेल मार्फत् राजीनामा पत्र सचिवालयमा दर्ता गरेका छन् । उनी आगामी निर्वाचनमा काठमाडौं–६ मा एमाले प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवार बन्ने छन् । उनी २०८० देखि २०८१ सम्म प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाकी उपसभामुख चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् । देलखा १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित काफ्ले आगामी निर्वाचनमा दोलखाबाट उम्मेदवार बन्ने तयारीमा छन् । यद्यपी उनको टिकट भने टुंगिएको छैन । काफ्ले बागमती प्रदेशको २०८० देखि २०८१ सम्म आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए ।

२०७४ र २०७९ मा प्रदेशसभा सदस्य निर्वाचित भएका बसन्त मानन्धरले पनि इमेल मार्फत् राजीनामा दिएका छन् । २०७४ मा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवादीबाट काठमाडौं–७ (क) बाट प्रदेशसभा निर्वाचित भएका मानन्धन हाल नेकपामा आवद्ध छन् । काठमाडौं–७ मा चुनाव लड्न मानन्धरले पदबाट राजीनामा दिएका हुन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो क्षेत्रमा चुनाव लड्न टिकट दिएका हुन् । उनी प्रदेशसभाको पहिलो कार्यकालको २०७८ देखि २०७९ सम्म खानेपानी उर्जा तथा सिंचाई मन्त्री रहेका थिए ।

राप्रपाबाट काठामडौं–२ (क) बाट निर्वाचित सुनिल केसीले प्रदेशसभा सदस्यबाट राजीनामा गरेका छन् । उनी रास्वपाबाट काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्ने तय भएको छ । पूर्वमेयर बालेनको टिमबाट रास्वपाले उनलाई काठमाडौं–२ मा टिकट दिएको हो ।

Exit mobile version