हेटौँडाः हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयले रजत महोत्सवको आयोजना गर्ने भएको छ । आउँदो बिहीबारदेखि रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।
सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर रजत महोत्सव बारे जानकारी गराएको छ । रजत महोत्सवको अवसरमा जिल्लास्तरीय छात्रा बुद्धिचाल, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता, नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, नगरस्तरीय स्थलगत चित्रकला प्रतियोगिता, नगरस्तरीय स्थलगत निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाका सचिव लिलानाथ ढुङ्गेलले जानकारी दिनुभयो ।
यस्तै विद्यालयले विद्यालयका विद्यार्थी बीच खेलकुद सप्ताह समेत आयोजना गरिनेछ। रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयका ५० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम रहेको सचिव ढुङ्गेलले जानकारी दिनुभयो । रजत महोत्सवको अवसरमा स्मारिका प्रकाशन, विद्यालय गीत सार्वजनिक गर्ने, रजत स्तम्भ अनावरण गरिने जनाएको छ ।
५७८ सेयर सदस्य रहेको सहकारी मार्फत सञ्चालन भएको विद्यालयमा १ हजार ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८० जना शिक्षक, कर्मचारी कार्यरत छन् । सरकारले गुठी वा कम्पनिमार्फत मात्रै विद्यालय सञ्चालन हुने व्यवस्था गरेसँगै जीएसलाई कम्पनिमार्फत सञ्चालन गरिएको पनि बताइएको छ ।
