हेटौँडा : एमालेले चितवनको ३ वटै क्षेत्रमा नयाँ उम्मेदवार खडा गरेको छ । आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनमा एमालेले ३ वटै क्षेत्रमा नयाँ उम्मेदवार उठाउने निर्णय गरेको हो । यसअघिका निर्वाचनमा चितवनबाट सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लालमणि चौधरी, काशिनाथ अधिकारी, राम न्यौपाने लगायतले चुनाव लड्दै आएका थिए । उनीहरु लड्दै आएको क्षेत्रमा एमालेले युवा उम्मेदवारलाई टिकट दिएर चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
चितवन १ बाट २०७०, २०७४ र २०७९ मा चुनाव लडेका सुरेन्द्र पाण्डे यसपटक क्षेत्रीय र जिल्लाको सिफारिसमा नै परेनन् । २०७० र २०७४ मा सो क्षेत्रमा चुनाव जितेका पूर्वअर्थ मन्त्री पाण्डे २०७९ को निर्वाचनजमा हरेका थिए । तत्कालिन समयमा नेकपा विवादको क्रममा एमालेको १० भाइ समुहमा रहेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिन नै आनाकानी गरेका थिए । एक दिन होल्ड गरेर पाण्डेलाई टिकट दिएका ओलीले आगामी निर्वाचनमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकलाई उम्मेदवार बनाएका छन् । पाठकले आगामी निर्वाचनमा रास्वपाका हरि ढकालसँग प्रतिस्पर्धा गर्ने छन् भने नेकपा र कांग्रेसले उम्मेदवार टुंग्याएको छैन । रास्वपाका ढकाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका पात्र हुन् भने पाठक पहिलो पटक चुनावी प्रतिस्पर्धामा रहेका छन् । चितवन १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका सबै वडाहरु पर्दछ ।
चितवन २ मा रास्वपा सभापति रवि लामिछानेसँग भिड्न एमालेले युवा उम्मेदवार उठाएको छ । कलाकारितासँगै राजनीतिमा सक्रिय एमालेका अस्मिन घिमिरेलाई सो क्षेत्रमा उम्मेदवार बनाउने गरी अध्यक्ष ओलीले टिकट दिइसकेका छन् । २०७४ मा एमालेका कृष्णभक्त पोखरेलले चुनाव जितेको सो क्षेत्रमा २०७९ र सो पछिको उपनिर्वाचन २०८० मा रास्वपाका सभापति लामिछानेले चुनाव जितेका थिए । २०७९ को निर्वाचनमा एमाले १० भाइ समूहका पोखरेललाई टिकट दिएपनि जित्न भने सकेनन् । २०८० को उपनिर्वाचनमा भने एमालेले सो क्षेत्रको टिकट तत्कालिन एमाले अध्यक्ष राम न्यौपानेलाई थमायो ।
एमाले विभाजनको असर खेपेको अवस्थामा शालिन र भद्र उम्मेदवार न्यौपानेले चुनाव हारे । सो क्षेत्रमा तत्कालिन माओवादीबाट राम बहादुर थापा ‘बादल’ले चुनाव जितेका थिए । थापा हाल एमाले उपाध्यक्ष रहेका छन् । सो क्षेत्रबाट एमालेका काशीनाथ अधिकारीले पनि चुनाव लडेका थिए । रास्वपाका सभापति रवि चुनावी प्रतिस्पर्धा गर्ने सो क्षेत्रमा नेकपा र कांग्रेसले उम्मेदवार छनौट गर्न सकेको छैन । चितवन २ अन्तर्गत इच्छाकामना गाउँपालिका, कालिका नगरपालिकाका सबै वडा र भरतपुर महानगरपालिकाका १ देखि ५, ७, १०, ११, १२ र २९ नम्बर वडाहरु पर्दछन् ।
यता चितवन ३ मा पनि एमालेले नयाँ पात्रलाई टिकट दिएको छ । माओवादी (हाल नेकपा) संयोजक अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्दै आएको क्षेत्र हो । २०७९ को निर्वाचनमा सो क्षेत्र छाडेर गोरखा पसेका प्रचण्डले २०७९ को निर्वाचनमा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएका थिए । सो क्षेत्रमा उक्त निर्वाचनमा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सहयोग गरेको थियो । एमालेले आधिकारिक उम्मेदवार बनाएर प्रैतिस्पर्धा गरेपनि जित्न भने सकेन । सो क्षेत्रमा राप्रपाका विक्रम पाण्डेले चुनाव जितेका थिए । सो क्षेत्रमा आगामी निर्वाचनमा एमालेले शंकर थपलियालाई उम्मेदवार बनाएको छ । थपलिया एमाले भरतपुर महानगरपालिकाका अध्यक्ष हुन् । सो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले २०७० को संविधानसभा सदस्य निर्वाचन जितेका थिए । २०७४ मा एमाले र माओवादी एकतापछिको नेकपाबाट प्रचण्डले सो क्षेत्रमा चुनाव जितेका थिए ।
आगामी निर्वाचनमा सो क्षेत्रबाट रास्वपाले सोविता गौतम र नेकपाले भरतपुर महानगरपालिकाकी मेयर रणु दाहाल, राप्रपाले विक्रम पाण्डेलाई प्रतिस्पर्धामा उतार्ने तयारी गरेको छ भने कांग्रेसले हालसम्म उम्मेदवार छनौट गर्न सकेको छैन । चितवन ३ अन्तर्गत माडी नगरपालिकाका ९ वटा वडा र भरतपुर महानगरपालिकाका पश्चिमतर्फका ६, ८, १३ देखि २९ नम्बर वडाहरु रहेका छन् ।
