Home मुख्य समाचार मकवानपुरमा नयाँ दल

मकवानपुरमा नयाँ दल

आसन्न प्रतिनिधि सभा निर्वाचन मूलतः पुराना दल र नयाँ दलबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । नयाँ दलहरु नवयुवा पुस्ताको प्रतिनिधि बन्न खोजेको जस्तो देखिन्छ भने पुराना दलहरु नवयुवा पुस्ताको मर्मलाई बेवास्ता गरिरहेको जस्तो देखिन्छ । देशकै पुरानो दल नेपाली काँग्रेसमा भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गरेर नवयुवा पुस्ताको भावनालाई समेट्ने प्रयास गरेको देखिन्छ । देशव्यापीरुपमा हेर्दा आसन्न प्रतिनिधि सभा निर्वाचन पुराना र नयाँ दलबीचको प्रतिस्पर्धा जस्तो देखिरहँदा मकवानपुरको अवस्था के हुन्छ भन्ने जिज्ञासा र उत्सुकता आमरुपमा छ । ससाना भेटवार्तादेखि समूह–समूहमा चर्चा हुने विषय हो निर्वाचनमा उम्मेदवार को हुन्छ ? मंगलबार उम्मेदवारी दर्ताको तालिका भए पनि आइतबार साँझसम्म काँग्रेस, राप्रपा, नेकपा, रास्वपाले उम्मेदवार सार्वजनिक गर्न सकेको छैन ।

मकवानपुर जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन् । नेकपा एमालेले १ नम्बर क्षेत्रबाट रामेश्वर राना र २ नम्बर प्रदेशबाट महेश कुमार बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । काँग्रेस, राप्रपा, नेकपा जस्ता पुराना दलले मतदातालाई उत्साहित गर्ने नयाँ अनुहार प्रस्तुत गर्ने संकेत देखिँदैन । यता नयाँ भनिएका रास्वपा, कुलमान नेतृत्वको उज्यालो नेपालले पनि मतदाताका लागि नयाँ र उत्साह प्रदान गर्ने उम्मेदवार प्रस्तुत गर्ने संकेत देखिँदैन । राष्ट्रिय राजनीतिमा प्रभाव कायम गरेका प्रभावशाली व्यक्तिले पनि मकवानपुरलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने अवस्था देखिन्न । नेकपा एमालेले प्रस्तुत गरेका राना पुराना नेता हुनुहुन्छ भने बर्तौला युवा भए पनि दोस्रो पटक निर्वाचनमा होम्मिँदै हुनुहुन्छ । यसअघि मकवानपुर–२ बाट २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएका बर्तौला युवा भए पनि पुराना दलको, केपी ओलीको भक्त भएको आरोप लाग्ने गरेको छ ।

मूलतः रास्वपाको पक्षमा देशभर देखिएको लहर मकवानपुरमा देखिएको छैन । पुराना दल यथास्थितिमै रहँदा रास्वपाले वर्तमान समयको मागलाई सम्बोधन गर्ने गरी सशक्त उम्मेदवार प्रस्तुत गर्न सक्ने अवस्था नहुनु दुखद् पक्ष हो । रास्वपाका नेता, कार्यकर्ताहरुलाई हेर्दा पुराना दलबाट दल परिवर्तन गरेको भन्दा बढी देख्न सकिने छैन । अझ आश्चर्यको कुरा त केही समयअघिसम्म नेता, कार्यकर्ता आफूखुसी सामाजिक सञ्जालमा आफूआफैं उम्मेदवार घोषणा गरिरहेका थिए । स्वघोषणा गर्ने प्रवृत्ति अन्य जिल्ला र देशका धेरै ठाउँमा देखिएरै होला रास्वपाले सर्कुलर नै गरेर सामाजिक सञ्जालमा स्वघोषणा नगर्न भन्नु परेको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित नतीजा हासिल गरेपछि रास्वपाले भावी अवसरका वृहत आयामलाई महसुस गर्नुका साथै अनेकौं चुनौतिको सामना गर्नुप¥यो । पार्टी सभापति रवि लामिछाने पटक–पटक जेल यात्रा गर्न बाध्य भए ।

रास्वपाबाट समानुपातिक प्रतिनिधित्वको अवसर प्राप्त गरेकी मकवानपुरकी विन्दवासिनी कंशाकारले जिल्लामा पार्टी र नागरिकसँगको सम्बन्धमा उल्लेखनीय भूमिका निर्वाह गर्न सकिनन् । यता कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले जिल्ला समितिसम्म गठन गरेको देखिन्छ । उज्यालो नेपाल पार्टीले मकवानपुरका आम नागरिक समक्ष खुलेर प्रस्तुत हुन सकेको छैन । पूर्वी नेपालको धरानका नगर प्रमुख हर्क साम्पाङले पनि मकवानपुरमा उपस्थिति जनाए पनि हुँदै नभएको कर्फ्यु लागु भएको भन्दै गलत छाप छाडेर गएका छन् । यस्तोमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मकवानपुरका लागि नियमित र सामान्य प्रक्रिया मात्रै बन्ने देखिन्छ । देशव्यापी नयाँ राजनीतिक शक्तिले पुराना भनिएका दललाई चुनौति दिने अनुमानमा मकवानपुरको भूमिका कमजोर र नगन्य हुने देखिन्छ ।

Exit mobile version