हेटौँडा : आसन्न निर्वाचनका लागि नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट रामेश्वर राना र मकवानपुर क्षेत्र नम्बर २ बाट महेश कुमार बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार साँझ एमालेले आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार तय गरेको हो । राना २०७९ सालमा भएको निर्वाचनमा पनि मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस हुनु भएको थियो । तर, राप्रपा नेपालसँगको तालमेलका कारण कमल थापालाई उम्मेद्वार बनाउने भएपनि राना व्याक हुनु परेको थियो ।
यस्तै बर्तौला २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो । बर्तौलाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडालाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । यस्तैबीच नेकपा एमालेले बागमती प्रदेशको ३३ निर्वाचन क्षेत्र मध्ये अधिकांशको उम्मेदवार टुंग्याएको छ । एमालेले बागमती प्रदेशका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्र मध्ये केही बाहेक सबैमा उम्मेदवार छनौट गरेको हो । एमालेले छनौट गरेका उम्मेदवारमा केही नयाँ अनुहारलाई अवसर दिएको छ भने प्रदेश सभा सदस्य समेतको नाम समावेश छ ।
एमालेले सिन्धुली क्षेत्र नम्बर–१ बाट प्रदीप केसी (कटुवाल) लाई उम्मेदवार बनाएको छ भने सिन्धुली–२ मा मनोजजंग थापालाई टिकट दिएको छ । एमालेबाट रामेछापमा माधवप्रसाद ढुङ्गेल उम्मेद्वार बन्ने निश्चित भएको छ भने दोलखामा पार्वत गुरुङ, सिन्धुपाल्चोक–१ मा आङदोर्जे शेर्पा र सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ उम्मेदवार बन्नेछन् । काभ्रेको क्षेत्र नम्बर–१ मा अमित लामा उम्मेदवार बन्दा काभ्रे–२ मा भने उम्मेदवार टुंग्याउन सकेको छैन । सो क्षेत्रको उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीले टुंग्याउनुहुने भएको छ । सो क्षेत्र एमाले नेता गोकुल बास्कोटा चुनाव लड्दै आएको क्षेत्र हो ।
एमालेले धादिङ–१ मा भूमि त्रिपाठी र धादिङ–२ मा धनबहादुर घलेलाई उम्मेदवार बनाएको छ । नुवाकोट–१ मा बद्री मैनाली, नुवाकोट–२ मा केशवराज पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ उम्मेदवार बन्ने भएका छन् । चितवन–१ मा कृष्णराज (कमल) पाठक, चितवन–२ मा अस्मिन घिमिरे र चितवन–३ मा शंकरराज थपलिया उम्मेदवार हुने भएका छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमालेले ४ बाहेका सबैमा उम्मेदवार टुंग्याएको छ । काठमाडौं–१ मा मोहन रेग्मी, काठमाडौं–२ मा मणिराम फुयाल, काठमाडौं–३ मा रामेश्वर फुयाल, काठमाडौं–६ मा अमनकुमार मास्के, काठमाडौं–८ मा राजेश शाक्य, काठमाडौं–१० मा विनोद श्रेष्ठ उम्मेदवार हुने भएका छन् । काठमाडौं–४, ५, ७ र ९ को उम्मेदवार भने अध्यक्ष ओलीले टुंग्याउनु हुनेछ ।
ललितपुरको ३ क्षेत्र मध्ये ललितपुर–१ मा चेतनाथ सञ्जेल, ललितपुर–२ मा प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाउने भएको छ । ललितपुर–३ भने अध्यक्ष ओलीले टुंग्याउनु हुनेछ । भक्तपुर–१ मा पनि एमाले अध्यक्ष ओलीले उम्मेदवार टुंग्याउने गरी छाडिएको छ भने भक्तपुर–२ मा महेश बस्नेत उम्मेदवार बन्नेछन् । उम्मेदवार बनेका मध्ये काठमाडौं–६ का मास्के बहालवाला प्रदेश सभा सदस्य हुन् भने चितवनको ३ वटै क्षेत्रमा एमालेले नयाँ उम्मेदवार खडा गर्ने भएको छ । चितवन–१ का पाठक, २ का घिमिरे र ३ का थपलिया पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । नुवाकोटको उम्मेदवार मैनाली र पाण्डे रसुवाका तामाङ, सिन्धुली–१ का केसी बागमती प्रदेश सभाका पूर्व सदस्य हुन् भने काठमाडौं–३ का फुयाल, ८ का शाक्य, ललितपुर–१ का सन्जेल पनि प्रदेश सभाका पूर्वसदस्य हुन् ।
