हेटौँडाः जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजिता प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको विद्यालयका सहायक प्रधानाध्यापक एवम् कार्यक्रम संयोजक सुदिप पौड्यालले जानकारी दिनुभयो ।
आइतबार बिहान ९ बजेदेखि हुने पहिलो सेमिफाइनलमा आयोजक प्रगति मावि र मकवानपुरगढी–८ स्थित रुपनारायण माध्यमिक विद्यालय भिड्दैछ । शनिबार भएको खेलमा प्रगति माविले बकैयाको महेन्द्र माध्यमिक विद्यालयलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ भने रुपनारायण माविले हेटौँडा–१४ को भृकुटी माध्यमिक विद्यालयलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आइतबार नै बिहान १० बजेदेखि हुने दोस्रो सेमिफाइनल खेलमा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन र हेटौँडा–९ स्थित कृष्ण आदर्श सेकेण्डरी स्कूल भिड्नेछ । शनिबार भएको खेलमा जीएस निकेतनले जनकल्याण माध्यमिक विद्यालय पालुङलाई र कृष्ण आदर्शले हेटौँडा–५ को बालज्योति माध्यमिक विद्यालयलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा जिल्लाका निजी र सामुदायिक गरी १९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता विद्यालयले १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, तेस्रो स्थान हासिल गर्ने विद्यालयले ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता फाइनल खेल आज आइतबार दिउँसो २ बजेदेखि हुनेछ ।
